मंगलबारदेखि पाइपबाटै डिजल नेपाल आउने, मूल्य घट्ने

Newslaya Home

मंगलबारदेखि पाइपबाटै डिजल नेपाल आउने, मूल्य घट्ने

मङ्गलबार २४, भदौ २०७६

बारा । आज नेपाल–भारत पेट्रोलियम पाइप लाइनबाट व्यवशायिक रुपमै तेल आउने भएको छ । भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको मंगलबार नेपाल र भारतबाट उद्घाटन हुँदैछ ।

नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान १२ बजे स्विच थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

२०७२ सालमा भएको सम्झौताअनुसार भारतले ७० किलोमिटर लामो पाइपलाइन बिच्छाइदिएको हो । ७० किलोमिटर लामो पाइपलाइनमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ ।

नेपालमा डिजलको माग धेरै भएकोले पाइपलाइनबाट सुरुमा डिजल मात्रै आउनेछ । पाइपलाइनबाट प्रतिघन्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घन्टामा ४८ लाख लिटल डिजल आउनेछ ।

पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भैसकेका छन् ।

यस्तै सुरक्षाका सबै उपकरण पनि जडान भैसकेका छन् । पाइपलाइनमार्फत आउने तेल कन्ट्रोल र नापजाँचका लागि अत्याधुनिक कम्युटर कन्ट्रोल रुम पनि बनिसकेको छ ।

पाइपमार्फत तेल आउन थालेपछि डिजलको मूल्य घट्ने निगमले जनाएको छ । अहिले अमलेखगञ्ज डिपोको लागि मासिक २० करोड रुपैयाँ ढुवानी भाडा भारतबाट डिजल ओसार्दा लाग्ने गरेको छ । उक्त रकम अब बचत हुनेछ ।