नेकपा इटहरीमा अझै विवाद : रोलक्रम मिचेर मनोनित पदाधिकारीलाई हटाउन माग

Newslaya Home

नेकपा इटहरीमा अझै विवाद : रोलक्रम मिचेर मनोनित पदाधिकारीलाई हटाउन माग

सोमबार २३, भदौ २०७६

इटहरी । इटहरीमा नेकपाको कार्यालयमा तालाबन्दी गर्ने असन्तुष्ट समुहले मिचिएको विधि र प्रकृया सच्याउन माग गरेको छ ।

सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै समुहले क्रम मिचेर कम योग्य व्यक्तिलाई पार्टीको जिम्मेवारी दिइएको भन्दै गतिविधी सच्याउन माग गरेको हो । सो सम्बन्धमा मागपत्र पार्टीका उपल्ला तहमा समेत पठाइएको तात्कालिन एमाले इटहरी वडा नं. ५ का अध्यक्ष विरेन्द्र गौतमले जानकारी दिए ।

 

केही साताअघी एमाले र माओवादी एक भई बनेको नेकपाको इटहरी समिति बनाउदा विधि मिचिएको आरोप समेत उनले लगाए । खासगरी भुगोलमा योग्य व्यक्ति हुदाहुदै केही वर्ष अघि मात्र इटहरी आएका काशीनाथ दंगाललाई नगर सचिव बनाइएकोमा समुहले आपत्ती जनाउदै आएको छ । पदस्थापन कार्यक्रम समेत गुपचुप गरिएको र सो कार्यक्रममै असन्तुष्ट भएर निवेदन दिएपनी पार्टी नेताहरुले वेवास्ता गरेको उनले बताए ।

गौतमले पार्टी समक्ष सात बुँदे माग गरिएको जानकारी दिए । पेस गरिएको मागपत्रमा अग्रज नेता र भुगोलमा काम गरेका र युवालाई समेट्न समेत माग गरिएको छ । समुहले आफुहरुको विरोधलाई गम्भीरतापुर्वक नलिए गम्भीर परिमाण उत्पन्न हुने समेत चेतावनी दिएका छन् ।

यसैबिच विवाद समाधान गर्न नेकपाले पहल थालेको छ । सोअनुसार सोमबारदेखि वार्ता सुरु भएको छ ।