अबदेखि बैंकहरुमा चेक नकाटी सिधै भुक्तानी गर्न मिल्ने

Newslaya Home

अबदेखि बैंकहरुमा चेक नकाटी सिधै भुक्तानी गर्न मिल्ने

सोमबार २३, भदौ २०७६

काठमाडौं। अबदेखि बैंकहरुमा चेक नकाटी सिधै भुक्तानी गर्न मिल्ने भएको छ ।

अर्थात राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) लागू गरेको छ। आरटिजिएस लागूसँगै चेकको क्लियरिङ गरिरहनु पर्दैन। तत्कालको तत्काल एक बैंकबाट अर्को बैंकमा भुक्तानी हुने छ।

जस्तो तपाईको खाता नबिल बैंकमा छ। तपाईको साथीको खाता प्रभु बैंकमा होला। तपाई नबिल बैंकमा गएर एउटा फारम भर्नु पर्छ। जसमा ‘मेरो फलानो नाम गरेको साथीलाई फलानो बैंक खातामा भुक्तानी गरिदेउ’ लेख्नु पर्छ।

त्यसपछि नबिल बैंकले तपाईँको खाताको पैसा प्रभु बैंकमा तपाईँको साथीको खातामा भुक्तानी गरिदिन्छ। यो प्रकृया काउन्टरमा उभिँदाउभिँदै पुरा भइसक्छ।

तर अहिले भने चेक काटेर क्लियरिङमा पठाउनु पर्छ। भुक्तानी हुन डेढ दिनसम्म लाग्छ।

राष्ट्र बैंकले २ लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा यो सेवा सुरु गरेको हो। २० लाखभन्दा माथिकोमा अनिवार्य नै गरेको छ। ग्राहकहरु बानि नपरुन्जेल चेक पनि चलाउने राष्ट्र बैंकले जनाएको छ।