विद्यालयमा प्राधानाध्यापक–व्यवस्थापन समिति अध्यक्ष दलित विभेद

Newslaya Home

विद्यालयमा प्राधानाध्यापक–व्यवस्थापन समिति अध्यक्ष दलित विभेद

सोमबार २३, भदौ २०७६

सिरहा । अभिभावकले सर्वसम्मत चयन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलित भएको भन्दै प्रधानाध्यापकले अस्वीकार गरेका छन् ।

लक्ष्मीपुर पतारी गाउँपालिका–४ धन्छवारस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक तारिणीप्रसाद चौधरीले दलित भन्दै व्यवस्थापन समिति अध्यक्षलाई दुव्र्यवहार गरेका हुन् ।

अध्यक्ष हरिप्रसाद सदायलाई अध्यक्ष स्विकार्न नमानेपछि १२ फागुनमा झडपकै स्थिति बनेको थियो । त्यसलगत्तै गाउँपालिकाको न्यायिक समितिमा भएको छलफलमा पनि प्रधानाध्यापकले कुरै सुनेनन् ।

विद्यालयमा अध्ययनरत एक सय ७७ विद्यार्थीमध्ये एक सय दुईजना दलित समुदायका छन् । समितिमा अध्यक्ष दलित चयन भएपछि प्रधानाध्यापक चौधरीले गाउँपालिकाबाट विद्यार्थीको पाठ्यपुस्तक, छात्रवृत्तिको रकमसमेत निकासा लिएका छैनन् ।

समितिलाई पूर्णता दिन सात सदस्यले थप दुईजनालाई मनोनयन गर्नुपर्ने थियो । तर, प्रधानाध्यापकले समितिलाई पूर्णता दिनसमेत मानेनन् ।

प्रधानाध्यापक चौधरीले भने समितिका अध्यक्ष सदाय दलित भएका कारण आफूले अस्वीकार नगरेको दाबी गरे । उनले आफु नभएको समयमा गाउँपालिकाले पत्र काटेर मनोनीत गरेको समितिलाई नमान्ने बताए । विद्यार्थीको पाठ्यपुस्तक र छात्रवृत्तिको रकम बैंक खातामार्फत आउनुपर्ने, तर लहानमा एनसिसी बैंकमा खाता खोल्न समितिको निर्णय चाहिने भएकाले समस्या भएको स्पष्टिकरण दिए ।

प्रधानाध्यापक चौधरीका कारण विद्यालयको वातवरण बिग्रिएको भन्दै स्थानीय दलित समुदायले विहीबार प्रदर्शनसहित गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थिए । द्वन्द्व व्यवस्थापन गरी नियमित पठनपाठन, व्यवस्थापन समितिको पूर्णता र शिक्षक अभिभावक संघको गठन, विद्यार्थीलाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराइनुपर्ने, छात्रवृत्ति रकम यथाशीघ्र बाँडिनुपर्ने, बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने दोषीलाई कारबाही गरिनुपर्नेलगायत पाँचबुँदे माग गरिएको छ ।