विराटनगर विमानस्थलको डीपीआर २० दिनमा सार्वजनिक गर्ने पर्यटन मन्त्रीको आश्वासन

Newslaya Home

विराटनगर विमानस्थलको डीपीआर २० दिनमा सार्वजनिक गर्ने पर्यटन मन्त्रीको आश्वासन

सोमबार २३, भदौ २०७६

मोरङ । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रियस्तरको बनाउन संघर्ष समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेको छ।

विमानस्थलको डीपीआर स्वीकृत नभएपछि विमानस्थल स्तरोन्नतिका लागि दबाब दिन विराटनगरबाट काठमाण्डौ पुगेको टोलीले मन्त्री भट्टराईलाई भेटेको हो । टोलीले भेटेर तत्काल डीपीआर स्वीकृत गरी क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन दबाब दिएको छ ।

विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन संघर्ष समितिको तर्फबाट गएको टोलीमा पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद शिवकुमार मण्डल, संघर्ष समितिका संयोजक पुण्य भट्टराई, सह संयोजक फडिन्द्र अधिकारी, सदस्य सचिव देवी गौतम (रविन) संघर्ष समितिका सल्लाहकार राजेन्द्र राउत, भोगेन्द्र यादव, पारुल क्षेत्री र जीतेन्द्र ठाकुर थिए ।

टोलीसँगको भेटमा मन्त्री भट्टराईले डीपीआर निर्माणको काम ९५ प्रतिशत सकिएको बताउँदै असोज १५ भित्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए ।

विराटनगर विमानस्थलभन्दा पछि डीपीआर भएको नेपालगञ्ज विमानस्थलको डीपीआर स्वीकृत भएर पनि बजेट विनियोजन भइसकेको छ ।

शनिबार मात्र विराटनगरमा संवाद समूहले गरेको संवादमा सरोकारवालाहरुले प्रदेश र संघबीच समन्वय नहुँदा विराटनगर विमानस्थल व्यवस्थापनमा समस्या भएको बताएका थिए ।