एसीसी यू–१९ एसिया कपः बंगलादेशसँग नेपाल ६ विकेटले पराजित

Newslaya Home

एसीसी यू–१९ एसिया कपः बंगलादेशसँग नेपाल ६ विकेटले पराजित

आइतबार २२, भदौ २०७६

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । नेपालका लागि ओपनर पवन सर्राफले ८१ र सन्दीप जोराले ५६ रन बनाए । त्यस्तै रित गौतम ३२, कुशल मल्ल २८, रोहित पौडेल १४ र आसिफ शेख ३ रन रनमा आउट भएका थिए ।

पहिलो विकेटका लागि ४५ रन जोडेको नेपालले तेस्रो विकेटका लागि ३९ र चौथो विकेटका लागि ६६ रनको साझेदारी गर्यो सर्राफले एक सय ९ बलमा एक छक्का र ८ चौका प्रहार गरे । त्यस्तै सन्दीप र भीमले छैटौँ विकेटका लागि ७१ रनको साझेदारी गरे । भीमले २१ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले नेपालले दिएको २ सय ६२ रनको उक्त लक्ष्य ४९ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशका अकबल अलीले अविजित ९८ सर्वाधिक रन जोड्दा तोहिद हृदयले ६०, मोहम्मद हसन जोयले ४० र सामिन होसेनले अविजित ४२ रन बनाए ।

सामिन र अलीबीच पाँचौँ विकेटका लागि एक सय रनको साझेदारी भयो । त्यसअघि १९ रन जोड्दा दुई विकेट गुमाएको बंगलादेशका लागि हृदय र जोयले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए ।

यस अघिको खेलमा पनि नेपाल घरेलु टोली श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो । बंगलादेशसँग पनि पराजित भएसँगै नेपालको सेमिफाइनल यात्रा समाप्त भएको छ । नेपालले तेस्रो तथा अन्तिम खेलमा युएईको सामना गर्ने छ ।