भद्रगोलको नयाँ एपीसोड फ्लप

Newslaya Home

भद्रगोलको नयाँ एपीसोड फ्लप

आइतबार २२, भदौ २०७६

काठमाण्डौ । नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आएको छ । तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेन् ।

भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो । नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) र अशोक धिताल (बाहुन डन) ले लिएका छन् । तर, पुरानो टिमका कोही पनि नहुँदा दर्शक निराश बनेका हुन् ।

यूट्यूवमा भद्रगोलको उक्त एपीसोड छैटौं नम्बरमा ट्रेन्डिङ छ । यसले झण्डै सात लाख भ्यूज पनि पाएको छ । तर, उत्पादकका लागि चिन्ताको विषय के भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन् । अहिले यूट्यूवमा सो एपीसोडमा १६ हजार लाइक र १९ हजार डिसलाइक देखिएका छन् ।

उत्पादक मिडिया हवसँग विविध विषयमा कुरा नमिल्दा जिग्री(पाँडेको समुह भद्रगोलबाट अलग भएको हो । उनीहरुले समयमा पैसा नपाएको गुनासो गरेका छन् भने कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । मिडिया हब यसमा सहमत छैन ।