भारतमा एउटा यस्तो जेल, जहाँ कैदीले रेष्टुरेन्टको खाना खान्छन्

Newslaya Home

भारतमा एउटा यस्तो जेल, जहाँ कैदीले रेष्टुरेन्टको खाना खान्छन्

आइतबार २२, भदौ २०७६

मुम्बई । भारतमा एउटा यस्तो जेल छ जहाँको कैदी आफूलाई जेलमा होइन, राजमहल मै बसेको अनुभव गर्छ । जम्मा एक जना कैदी अनि रेष्टुरेन्टको खाना । त्यसमाथि दिनको दुई घण्टाको इभिनिङ वाक र टिभी हेर्ने सुविधा ।

पुरानो जमानामा बनाइएको एउटा किलालाई नै जेलमा रूपान्तरित गरिएको थियो ।

भारत को केन्द्रशासित प्रदेश दमन दिउ जुन गुजरात राज्यको पश्चिमी समुद्रीय तटमा अवस्थित यो जेल कुनै बेला पोर्चुगलको आधिपत्य रहेको द्वीपमा छ ।

यस जेलमा कैदी संख्या जम्मा १ जना रहेको छ । यी सौभाग्यशाली कैदीको नाम दीपक कान्जी हो । ३० वर्षीय कान्जी यस जेलमा एक मात्र कैदीको रूपमा रहेर आफ्नो अपराधको सजाय काटिरहेका छन् ।

जेल भित्र रहेका अनेको कोठा मध्ये एउटा कोठामा कान्जीलाइ राखिएको छ । कुनै बेला यस कोठामा २० जना कैदी राखिने गरिन्थ्यो । कान्जीलाई जेल भित्र गुजराती भाषाका अखबार, पत्र पत्रिका उपलब्ध हुनुका साथै टिभीमा दूरदर्शन लगायत आध्यात्मिक च्यानल हेर्ने सुविधा रहेको छ ।

साँझमा उनलाई ‘इवनिंग वाक’ का लागि एकजना गार्डले २ घण्टासम्म घुमाउन लैजान्छन्। एकजना कैदी मात्र भएकोले जेल प्रशासनले जेलमा खाना बनाउने झन्झट नगरेर उनका लागि नजिकको रेस्टुरेन्टबाट खाना मगाउने गरेको छ ।

जेल प्रशासनले एकमात्र कैदीमाथि प्रति महीना ३२ हजार रुपैयाँ खर्च गर्ने गरेको छ। कान्जी आफ्नो पत्नीलाई विष खुवाएको आरोपमा सजाय काटिरहेका छन् ।

जेलमा एक असिस्टेन्ट जेलर ५ जना गार्ड र एक सहायकको नियुक्ति रहेको छ ।

कैदी संख्या अति नै न्यून भएर भारतीय पुरातत्व सर्वेक्षण विभागले यस जेललाई अधिग्रहण गर्ने आशयको प्रस्ताव भारत सरकार समक्ष राखेको छ ।