मोटरसाइकल दाइजो नदिएको निहुँमा श्रीमतीको हत्या

Newslaya Home

मोटरसाइकल दाइजो नदिएको निहुँमा श्रीमतीको हत्या

शनिबार २१, भदौ २०७६

रौतहट । रौतहटमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

बिहेमा मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका –७ मा २५ वर्षीया श्रीमती सन्जु देवीको हत्या भएपछि श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाब सहनी र ससुरा मोहन सहीनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।

घटना शंकास्पद रहेकाले उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टम पश्चात परिवारजनलाई जिम्मा लगाइएको छ । सन्जुको बिहीबार साँझ हत्या भएको मृतकका बाबु अबिलास सहनीले जानकारी दिएका छन् ।

मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे । बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको मृतकका बुबा अबिलाशको दाबी छ ।

केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाव दिने गरेको कुरा आफूलाई जानकारी गराएको बुबा सहनीको भनाइ छ ।