सेतो पुतली आतंकः शरीरको सम्पर्कमा आउनेवित्तिकै गुम्छ आँखाको ज्योती

Newslaya Home

सेतो पुतली आतंकः शरीरको सम्पर्कमा आउनेवित्तिकै गुम्छ आँखाको ज्योती

शनिबार २१, भदौ २०७६

काठमाडौं । आजभोली सेतो पुतलीले आतंक मचाइरहेको समाचार आइरहेको छ । पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले ‘सापु’ नामको रोग लाग्ने बताइएको छ । जसका कारण आँखा सुक्ने र केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरूपमा गुम्नसक्ने चिकित्सकले जनाएका छन् ।

विशेषगरी साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै घातक हुने चिकित्सक बताउँछन् । यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेबित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ ।

सेतो पुतली उड्दै गर्दा मानव आँखामा ठोकिएमा वा यसका रौं कुनै कारणवश आँखामा परेमा रोग लाग्न सक्छ । सो रोग लागेमा आँखा रातो हुने, आँखाको भित्री नानी सेतो देखिने, आँखाको दृष्टि क्षमतामा तुरुन्तै ह्रास आउने तथा आँखाको गेडी दुख्ने जस्ता लक्षण देखा पर्छन् । यस्तो किसिमको समस्या विशेष गरेर बच्चामा बढी देखापर्ने गरेको छ ।

उक्त रोगबाट बच्न सेतो पुतली भएको ठाउँबाट अलग बस्ने, आफ्ना बाबुनानीलाई पुतली भएको ठाउँमा जान नदिने, पुतलीको कारण हुन सक्ने समस्याका बारेमा जानकारी गराउने, साइकल, मोटरसाइकल चलाउँदा चस्मा प्रयोग गर्ने, घरकोठामा सकेसम्म पुतली पस्न नदिने आवश्यक उपाय अवलम्बन गर्नुपर्छ ।

कुनै कारणवश उक्त पुतलीले हाम्रो आँखामा असर पारेमा वा सो लक्षण देखापर्न थालेमा चाँडो आँखा अस्पतालमा गइहाल्नुुपर्ने चिकित्सकको सुझाव छ । समयमै उक्त रोगको निदान गरी उपचार गराएमा दृष्टि क्षमता गुमाउनुपर्दैन । यो पुतली रातको समयमा ट्युबलाइट, बिजुलीबत्ती, पर्दा, कपडा, झ्याललगायतमा झुम्म भएर बस्ने गर्छ ।