स्वतन्त्र र स्वायत्त मिडियाको पक्षमा किन बहस नगर्ने ?

Newslaya Home

स्वतन्त्र र स्वायत्त मिडियाको पक्षमा किन बहस नगर्ने ?

शालिग्राम पाण्डे
शनिबार २१, भदौ २०७६

मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पास गरेर ऐन बन्ने हो भने नेपालमा पत्रकारिताको अस्तीत्व समाप्त नै हुने थियो, तर संकट अहिलेलाई रोकिएको छ ।

नेपाल पत्रकार महासंघ लगायतका पत्रकारितासंग सम्बन्धित विभिन्न संघ संस्थाहरूको सजगता र सत्तापक्ष र प्रतिपक्षका केही सांसदहरूको पहलमा मिडियालाई स्वतन्त्र र स्वायत्त बनाउनु पर्छ भन्ने पवित्र भावनाका साकार हुने स्थिति देखिएको छ ।

यसकारण काउन्सिल विधेयक संशोधन हुन लागेको छ । काउन्सिल विधेयकमा पत्रकार हुन परीक्षाको व्यवस्था सम्बन्धि प्रावधान थप हुन लागेको पाइन्छ । यो ज्यादै राम्रो कुरा हो ।

वास्तवमा पत्रकारको योग्यता कम्तिमा स्नातक तह कायम हुनु पर्छ र परीक्षाको व्यवस्था हुनुपर्छ डाक्टर, वकील, शिक्षक बन्न परिक्षा पास गर्नु पर्ने भए जस्तै परीक्षाको व्यवस्था हुनु अति राम्रो हो । परीक्षा दिएर पास भएका पत्रकारहरूमा जिम्मेवारी बढ्ने छ । वर्तमान अवस्थामा जो सुकै पत्रकार हुन पाउने पत्रकारको योग्यता नतोकिएकाले पत्रकारिता पेसा उपर धेरै गुनासाहरू आउने गरेको पाइन्छ ।

पहिले पत्रकारको स्तर निर्धारण गर्नु पर्छ, पत्रकारको योग्यता कुनै पनि विषयमा स्नातक गरेको हुनु पर्ने र परीक्षा उत्तीर्ण गरेरमात्र पत्रकार बन्ने परिपाटी राखिने हो भने पत्रकारिता जगतले यति धेरै बद्नाम खेप्नु पर्ने छैन ।

पत्रिका, रेडियो, टेलीभिजन, अनलाइन आदिको परिचयपत्र लिए पछि जस्ले पनि पत्रकार हुन पाउने वर्तमान परिपाटीमा संशोधन हुनु पर्छ ।

परीक्षा प्रणाली लागु भएमा भोलि पत्रकारबाट पटक पटक गल्ती भएमा पत्रकारको लाइसन निलम्बन गर्ने तथा ठूलो गल्ती गरेमा लाइसन खोसीन सक्ने प्रावधान राखिएमा पत्रकारले स्वतः जिम्मेवार भएर पत्रकारिता गर्ने छन् । र कसैले पनि म प्रेसपास नलिइकन पत्रकारिता गर्छु म भन्दा समाजको कोही ठूलोे छैन, मैले नियम कानुन पालना गर्नु पर्दैन भन्ने दम्भ गर्न पाउने छैनन् ।

पत्रकारिता क्षेत्रमा केही पत्रकारले गलत काम गरेकाले सबै पत्रकारलाई बद्नाम गराउने कार्य भएकाछन् । केही पत्रकारका कारण आम पत्रकारले शिर निहु¥याउनु पर्ने स्थिति उत्पन्न भएको छ ।

हाम्रा सञ्चारमाध्यममा यदा कदा त्यस्ता अन्तरवार्ता आउने गर्छन्, जुन अन्तरवार्ता हेर्न तथा सुन्न लायक हुँदैन, ठाडो भाषा प्रयोग गरिएको हुन्छ, अन्तरवार्ता लिएको हो वा कठघरामा राखेर कुनै अपराधीसंग बयान लिइएको हो भन्ने छुट्याउनु पर्ने अवस्था पनि देखिने गर्दछ । वा कुनै अपहरण कारीले अपहरण गरेर पैसा असुली गर्नका लागि सम्बन्धित परिवारलाई धम्की दिएको हो ? छुट्याउन मुस्किल पर्छ ।

पत्रकार भनेको समाजको अगुवा हो । पत्रकारले गरेका राम्रा कामको सबैले अनुसरण गर्ने गर्दछन्, पत्रकार, वकिल, डाक्टर, इञ्जिनियर भनेका समाजसेवीहरू पनि हुन् । उनीहरूले सदा समाजको हितमा काम गर्नु पर्ने हुन्छ र आफै उदाहरण बन्न सक्नु पर्छ ।

सबै पत्रकारलाई एउटै डालोमा राख्न पनि मिल्दैन । कोही पत्रकारले समाजलाई परिवर्तन गर्न, आफूले गाली खाएर, कुटाई खाएर, विभिन्न मुद्दा खेपेर पनि समाजको हितमा कलम चलएकाछन् भने केही पत्रकार भनाउँदाले भने ‘तेरो यो समाचार आएको छ, मलाई यति लाख/हजार दिने भए देऊ, नत्र सञ्चार जगतमा समाचार भाइरल बन्ने छ । भोलि तपाईको बद्नाम हुन्छ, पैसा दिने कि समाचार छापु ?’ भनेर असुलीका कुरा गर्ने गरेका उदाहरण हामीसंग प्रसस्त छन् ।

तपाई हामीले मुख खोल्न नसकेको मात्र हो । यस्ता कुरामा कानुनमा सुधार गरेर पत्रकारिता जगतलाई शुद्धिकरण गर्न नयाँ नीति अपनाउनु पर्छ त्यसमा दुई मत छैन ।

पत्रकार आचारसंहिताले पत्रकारलाई नियमन गर्ने प्रयास गरेको छ तर पत्रकार आचारसंहिताले त्यस्ता असुलीमा लागेका पत्रकार भनाउँदालाई छोएको पाइदैन ।

पत्रकारिता पेसामा योग्यता निर्धारण गर्ने र परीक्षा प्रणाली लागु हुने हो भने पत्रकारितालाई भजाएर अनियमिता गर्नेहरू धेरै हदसम्म हट्ने छन् । रहल पहल भएकाले आपूmलाई सुधार गर्ने छन् ।

पत्रकारिताको नियामक निकाय प्रेस काउन्सिललाई बनाउने हो भने काउन्सिलका अध्यक्ष र सदस्यहरूको चयन पत्रकारहरूबाटै निर्वाचन प्रक्रियाबाट गरिनु पर्छ । प्रधानमन्त्री/मन्त्रीको सिफारिसमा टपक्क टिपेर लान मिल्दैन ।
यो लोकतान्त्रिक पद्दती होइन । त्यसमा राजनीति गर्नेलाई लगियो भने पत्रकारभन्दा पनि मन्त्री परिषदप्रति जबाफदेही हुन्छन् ।

सरकारका मन्त्री तथा कुनै निकायका प्रमुखले गरेको नियुक्तिका आधारमा आएका व्यक्तिले पत्रकारहरूको हक हितका लागि केही गर्न सक्दैन र विपरित राजनीतिक खेमाका पत्रकारलाई दुःख दिने र आप्mनो राजनीतिक दल निकट भएका पत्रकारलाई सेवा सुविधामा ख्याल राख्ने कार्य स्वभाविक रूपमा हुन्छ मानवीय गुण पनि त्यस्तै हुन्छ ।

पत्रकारिता क्षेत्रमा पनि कानुन व्यवसायीजस्तै कुन योग्यता पुगेको पत्रकारलाई बरिष्ठ भन्नु पर्ने तोकिनु पर्छ । तर आजका मितिसम्म कही कतै उल्लेख नभएको तर मनोमालिन्य ढंगले आफूले खुसी पार्नु पर्ने पत्रकारलाई बरिष्ठको उपाधी दिने गरेको पाइन्छ । यो सरासर गलत हो । जसलाई पायो त्यसलाई बरिष्ठ भनिदिने परिपाटी रोकेर मापदण्ड निर्धारण गर्नुपर्छ ।

आपराधिक गतिविधिमा लागेका कतिपय पत्रकार भनाउँदा संचार गृहको परिचय पत्र लिएर हिड्ने र घुसको मध्यस्थकर्ता आफै बन्ने, भ्रष्टाचारीसँग मिलोमतो गर्ने, मिलाउने, राजस्व छल्ने जस्ता विभिन्न अपराधिक गतिविधिमा संलग्न हुने गरेको पनि पाइएको छ । संसारमा पत्रकार भनेको सम्मानित पेसा भन्ने बुझिन्छ, पत्रकार भनेको विक्रिति विसंगतिका विरुद्धमा समाजलाई सचेत गराउने पेसा हो ।

समाजको भलाईका लागि, समाजमा सुधार ल्याउन पत्रकारले आप्mनो जीउ ज्यान माया मारेर कलम चलाएका उदाहरण धेरै छन् । पत्रकारको शक्ति भनेको नै उसको नैतिक चरित्र हो र हुनुपर्छ । त्यस अर्थमा पनि पत्रकार बन्नका लागि परीक्षाको व्यवस्था हुनु पर्छ । गलत व्यक्तिलाई पत्रकारिताको लाइसेन्स दिएर सिंगो पत्रकारिता जगतलाई बद्नाम बनाउनु हुँदैन ।

कुन देशमा लोकतन्त्र तथा सुशासन फस्टाएको छ ? भनेर जाँच गर्ने माध्यम भनेकै त्यहाँको सञ्चार माध्यम हो । कुनै पनि देशको सञ्चार माध्यम हेरेर त्यो देशको शासन व्यवस्था कस्तो छ ? भन्ने थाहा पाउन सकिन्छ । निरंकुश शासन व्यवस्थामा सरकार नियन्त्रित सञ्चार हुने हुँदा सञ्चारले सरकारको विरुद्धमा कलम चलाउने आँट गर्दैनन् । कुनै पनि मुलुकमा लोकतन्त्रको अभ्यास स्वच्छ ढंगले भै रहेको छ भने त्यो देशका सञ्चार माध्यमहरू स्वतन्त्र हुन्छन् । सरकारका राम्रा नराम्रा दुवै खाले समाचार सञ्चार माध्यममा आएको हुन्छ ।

वर्तमान अवस्थामा छलफल भइरहेको काउन्सिल विधेयकमा कसैको मर्यादा र प्रतिष्ठामा आँच पु¥याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार तथा सम्बाददातालाई २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्न सक्नेछ भन्ने उल्लेख गरी सञ्चार गृहदेखि लिएर सम्पादक, पत्रकार सबैलाई ठूलो रकम जरिवानाको तरबार देखाएर स्वतन्त्र प्रेसको भावना र मर्ममा प्रहार गर्ने, उनीहरूको ढाड सेकाउने उद्देश्य राखिएको छ ।

त्यस्तो प्रावधान हटाउन पत्रकारहरूको कडा विरोधका कारण सत्तापक्ष र प्रतिपक्षका साँसदले उक्त काउन्सिल विधेयकमा संशोधनको प्रक्रिया राखेको पाइन्छ । यसले नेपालको पत्रकारितालाई निमोठ्ने प्रयास एक पटकका लागि जोगिएको छ ।

अबका दिनमा सञ्चार सम्बन्धि विधेयक ल्याउदा सञ्चार क्षेत्रका व्यक्तिहरूसंग व्यापक छलफल गरेर आउनु पर्छ र सञ्चार माध्यम तथा पत्रकारिता जगतलाई स्वतन्त्र र स्वायत्त राख्न सबैको ध्यान केन्द्रीत हुनु पर्छ । सरकार आफैले बनाएको र सर्वोच्च अदालतले समेत कार्यान्वयनका लागि आदेश दिएको समानुपातिक विज्ञापन नीति कार्यान्वयन हुनुपर्छ ।

पत्रकारहरूले पनि आपूmलाई समयानुकुल परिवर्तन गर्नुपर्छ । आफ्नो लेखनशैली तथा क्षमता बढाउने, पाठकको विश्वास जित्ने, समाजलाई अगाडि बढाउन तथा सभ्य समाजको निर्माणमा पत्रकारको उल्लेखनीय भूमिका हुनुपर्छ भन्ने सोचबाट पत्रकारहरू उत्प्रेरित हुनु पर्छ । अन्य पेसाकर्मी, व्यवसायीहरू भन्दा पत्रकारको इज्जत सम्मान अझ बढी छ/हुन्छ । जनताले पत्रकारलाई बढी विश्वास गर्छन् । त्यस कारण पत्रकारले निःस्वार्थ भावनाले मुलुक र जनताको हितमा कलम चलाएको हुनु पर्छ ।