कसरी सेतो भयो काग ?

Newslaya Home

कसरी सेतो भयो काग ?

शनिबार २१, भदौ २०७६

काठमाडौ । काठमाण्डौमा केही दिनअघि सेतो काग भेटियो । सेतो काग भेटिएपछि प्राणीशास्त्रका अध्येताहरुमा मात्रै होइन, सर्वसाधारणमा समेत चर्चा हुन थालेको छ ।

सन् १९८६ को सेप्टेम्बर महिनामा प्रा.डा. तेजकुमार श्रेष्ठले काठमाण्डौको कुलेश्वरस्थित शिव मन्दिरको वरिपरि सेतो कागको तस्बिर लिएका थिए । ५ वर्ष अगाडि काठमाण्डौको टोखा क्षेत्रमा स्थानीयले सेतो काग फेला परेको बताए पनि पहिचान हुन सकेको थिएन ।

चराविद्हरु संसारमा कतै सेतो कागको छुट्टै प्रजाति नभएको बताउँछन् । सन् १९८४ मा भारतका चराविद् सलिम अलीले भारतको बम्बई शहरमा सेतो काग भेटेका थिए । सेतो रगंको कागका विषयमा अन्तर्राष्ट्रिय जर्नलहरुमा लेखहरु कमै मात्र प्रकाशित भएका छन् ।

कागका प्रजाति

काग पन्छी वर्गअन्तर्गत पासारी फोर्मिस समूह तथा कर्भिदिई परिवारभित्र पर्ने चरा हो । रिचार्ड ग्रिमेट र समूहबाट लिखित ‘नेपालका चराहरु’ भन्ने पुस्तकमा उल्लेख भएअनुसार नेपालमा टुङ्गा, टेमु, घर काग, कालो वा वन काग र राज काग गरी पाँच प्रजातिका काग रहेका छन् ।

तीमध्ये हाम्रो गाउँघरमा पाइने कालो रङको वन काग र कालो खरानी रङको घर काग हुन् । यी दुवै कागहरु विश्व संरक्षण संघको रेड डाटा बुकअनुसार ‘लिस्ट कन्सर्न’ सूचीमा सूचीकृत छन् ।

सेतो कागको पहिचान

सेतो रङको काग ५ वर्ष पहिले टोखा क्षेत्रमा देखिएको भए पनि पहिचान हुन सकेको थिएन । स्थानीयबासीले त्यस क्षेत्रमा सेतो रङको काग रहेको बताउँदै आए पनि यो विषयमा अध्ययन अनुसन्धान गरिरहेको समूहले अहिले मात्रै पहिचान गरी तस्बिर लिन सफल भएको हो ।

भदौ १४ गते प्राणी शास्त्रका विज्ञ, विद्यार्थी तथा चराविद्हरु सम्मिलित एक समूहले गरेको एक अध्ययनको क्रममा काठमाण्डौ टोखा नगरपालिकाको टोखाको ठूलो लाछीमा एउटा सेतो रङको वन काग फेला पारेको थियो । जगन्नाथ अधिकारी, पूर्णमान श्रेष्ठ, सुवर्णराज घिमिरे, मोहनविक्रम श्रेष्ठ, सुमन सापकोटा र आनन्दकुमार श्रेष्ठको टोलीले यो विषयमा अध्ययन गरिरहेको छ ।

टोखामा भेटिएको त्यो कागको शारीरिक बनावट, आनीबानी, रङ बाहेक सबै कालो कागसँग मिल्ने प्राणीशास्त्रका अध्येता जगन्नाथ अधिकारीको भनाई छ । शरीर पुरै सेतो भए पनि ठुँड, खुट्टा र आँखा भने कालो भएको जानकारी दिँदै उहाँले ठुँडमाथि सेता रौँका रेशाहरु फैलिएको बताए ।

कालो काग सेतो हुनुको कारण

चराहरुमा हुने आकस्मिक रङ परिवर्तन वंशाणुगत गुणमा आउने परिवर्तनबाट हुने गर्दछ । ली र केलर(१९५१)का अनुसार चराहरुमा हुने रङ परिवर्तनलाई चार भागमा हुने रङ परिवर्तनलाई अल्बुनिज्म, ज्याथिज्म, इरिक्रिज्म र मेलनिज्म चार भागमा विभाजन गर्न सकिन्छ ।

यीमध्ये अल्बुनिज्म भनेको आनुवंशिकतामा भएको असन्तुलनको कारण शरीरमा कालो दिने तत्व मेलानिन जम्मा गर्ने जिनको दुर्बलताले गर्दा हुन्छ ।