विराटनगरमा स्वास्थ्यको विकास : भारतीयहरु उपचार गर्न नेपाल आउँछन्

Newslaya Home

विराटनगरमा स्वास्थ्यको विकास : भारतीयहरु उपचार गर्न नेपाल आउँछन्

– डा. नारायण कुमार
शुक्रबार २०, भदौ २०७६

आजको स्वास्थ्य सेवामा समृद्ध विराटनगरलाई हेर्दा यो कल्पना गर्न ग्राहो छ कि पहिले यहाँ धामि झाँक्रीबाट मात्रै स्वास्थ्योपचार हुन्थ्यो । वास्तवमा राणाकालमा विराटनगरमा परम्परागत धाँमीझाँक्री र जडीबुटीबाट उपचार गर्ने पद्धती थियो ।

राणाकालमा जनसहभागितामा एउटा डिस्पेन्सरी स्थापना भएको थियो । जहाँ अनुभवप्राप्त सहायकद्वारा अति सामान्यस्तरको उपचार हुन्थ्यो । प्रजातन्त्रपश्चात् सो डिस्पेन्सरी त्रिभुवन स्मारक अस्पताल नामबाट विकसित भयो । कालान्तरमा त्यस अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नति गरियो ।

जिल्ला अस्पताल रंगेली स्थापना भएपछि यसलाई कोशी अञ्चल अस्पतालमा रुपान्तरित र स्तरोन्नती गरियो । हाल यसलाई क्षेत्रीय अस्पताल बनाउने तयारी भइरहेको छ ।

आधुनिक चिकित्सा पद्धितिको अभावमा विराटनगर र यस क्षेत्रका बिरामीहरु उपचारका लागि दरभंगा, पटना, कलकत्ता जाने गरेको थिए । बिरामी उपचारमा नेपाली पैसा अधिकांशतः भारततर्फ जाने गरेको थियो ।

एक्स–रे गराउनसमेत कटिहार विहारको कुन्डु एक्स–रे क्लिनिकमा जानु पर्ने बाध्यता थियो ।

धेरै पछि मात्र नेपाल क्षयरोग निवारण संस्थाको विराटनगर चेष्ट क्लिनिकमा एक्स–रे जडान भै सुरुवात भएको थियो ।

विराटनगरमा आधुनिक चिकित्सा पद्धतिको सुरुवात गर्ने श्रेय डा. अवधनारायणलाई जान्छ । ई.सं. १९५० मा एम.बि.बि.एस. उत्तिर्ण गरी विराटनगर फर्किएपछि विराटनगर मेनरोड (हालै जैन भवन रहेको स्थल) देखि दक्षिणतर्फ रहेको तात्कालिन व्यवसायिक भवन अशोक फार्मेसी नामक क्लिनिक स्थापना गरी संचालन गर्नुभयो ।

डा. अवधनारायण तात्कालिन समयको एउटा सफल तथा लोकप्रिय डाक्टर हुनुहुन्थ्यो ।

तात्कालिन समयमा रोग पत्ता लगाउने प्रक्रिया प्रायः बिरामीको लक्षण, नाडी छामेर र आला (स्टेथेस्कोप) को माध्यमबाट मात्र यकिन गर्नुपर्ने हुन्थ्यो । अन्य सुविधा उपलब्ध थिएनन् ।

सन् १९६० को दशकमा निजी क्षेत्रमा पहिलो नर्सिंग होम बनाउने परिकल्पना सहित डा. अवधनारायणले साबिक विराटनगर–४ मा भारतबाट नर्स झिकाई नर्सिंग होम स्थापना गर्नुभयो, जुन हाल वहाँकै स्मृतिमा डा. अवधनारायण मेमोरियल क्लिनिकको नामबाट संचालित छ ।

हाल विराटनगरमा निजी क्षेत्रमा १५ वटा अस्पताल/नर्सिंग होम संचालित छन् । सोको अलावा दुई वटा मेडिकल कलेज अस्पतालसहित संचालनमा रहेका छन् ।

नेपाल मेडिकल एसोसिएसन विराटनगरमा रहेको रेकर्डअनुसारसन् १९५२ मा सात जना डाक्टरहरु कार्यरत रहेकोमा तीमध्ये स्त्री रोग उपचारमा संलग्न डा. शान्ति बनर्जी निकै लोकप्रिय हुनुहुन्थ्यो । सुरक्षित प्रसुति सेवा प्रदान गरी मातृ मृत्युदर कम गराउन वहाँको महत्वपूर्ण योगदान रहेको छ ।

सन् १९७० मा डा. अवधनारायणले निजी क्षेत्रमा आधुनिक मेशिनबाट एक्स–रे सेवा प्रारम्भ गर्नु भयो । साथै ल्याब टेष्ट गर्ने पद्धतीको सुरुवात गर्नुभयो । ल्याब टेष्टबाट चिनी रोग पत्ता लगाउने सुरुवात पनि गर्नुभएको थियो ।

सन् १९६० को दशकको अन्ततिर त्रिभुवन स्मारक अस्पतालमा क्रमशः विशेषज्ञ चिकित्कहरुले सेवा दिन थालेका थिए । सोभन्दा अघि अस्पतालको शल्यक्रिया (अप्रेशन थिएटर) मा एम.बि.बि.एस. उत्तिर्ण चिकित्सकद्वारा नै सामान्य प्रकारको शल्यक्रिया हुने गरेको थियो ।

सन् १९६१ मा डा. शान्ति बनर्जीको सफल प्रसुति/सिजेरीयन अप्रेशन डा. अवधनारायण, डा. वार र डा. भरतराज बैद्यको संयुक्त टीमद्वारा त्रिभुवन स्मारक अस्पतालमा गरिएको थियो । डा. सुदीपकुमार भट्टचार्य पहिलो सरकारी विशेषज्ञ सर्जन–एफ.आर.सि.एस.सन् १९६७ (वि.सं. २०२४) मा पदस्थापन भै बिराटनगर आउनु भएको थियो ।

आँखाको उपचारमा पहिलो विशेषज्ञ चिकित्सक डा. सुशिल बनर्जी बिराटनगरमा सेवारत हुनुहुन्थ्यो । वहाँ विभिन्न स्थानमा गै मोतिविन्दूको समेत सफल शल्यक्रिया गर्नुहुन्थ्यो ।

आँखाको उपचारमा संस्थागत रुपमा पहिलो रामलाल गोल्छा आँखा अस्पताल, विराटनगर आँखा अस्पताल तथा निजी क्षेत्रमा तापडिया आँखा अस्पताल र विराट आँखा अस्पताल संचालनमा छन् ।

सन् १९७२ मा विराटनगरमा मूटुको बिरामी पत्ता लगाउने इ.सि.जी. मेशिनसमेत नरहेको अवस्था हेर्दा हाल आँखा देखि कार्डियोलजी, न्यूरो सर्जरी, युरोलजी, नेफ्रोलजी जस्ता अति विशिष्ट उपचार सेवाहरु विराटनगरमा उपलब्ध छ । भारतबाट उल्टै बिरामीहरु नेपाल आउन थालेका छन् ।

आँखाको मोतीविन्दु र अन्य बिरामीको उपचारका लागि भारतबाट औसत दैनिक ५०० बिरामी विराटनगर आउने गरेको बुझिएको छ । प्रतिव्यक्ति १० हजार रुपैया खर्च अनुमान गर्ने हो भने दैनिक ५० लाख बराबरको भारतीय रुपैया प्राप्त हुने देखिन्छ ।

यस्तै विशिष्ट उपचार सेवा उपलब्ध गराउने अस्पतालहरुमा औसत दैनिक ४०० जना बिरामी उपचार गराउन आउँछन्, जसबाट दैनिक ७५ लाख रुपैया संकलन अनुमान गर्ने हो भने वार्षिक अढाई अरबभन्दा बढी रकमको कारोबार हुने गरेको छ ।

वर्तमान अवस्था हेर्दा बिराटनगर स्वास्थ्य सेवा प्रदान गर्ने केन्द्र/हेल्थ हबको रुपमा विकसीत हँुदै गएको छ । विराटनगर संघीय प्रदेशको राजधानी भएको स्थितीमा स्वास्थ्य निती जनमुखी हुन आवश्यक छ । त्यसो भए यस भेगका जनताले अझ सरल र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अवस्था आउने देखिन्छ ।

(डा. नारायण कुमार वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पूर्व अस्पताल निर्देशक तथा अवधनारायण मेमोरियल क्लिनिक विराटनगरका अध्यक्ष हुन् ।)

1 प्रतिकृयाहरू प्राप्त
  • प्रफुल्ल चन्द्र दासलेख्नुहुन्छ
  • |
  • शुक्रबार २०, भदौ २०७६
वहाँले गराएको बहुमूल्य जानकारी को लागी धन्यवाद । तथा हाम्रो प्रदेश १ का साथ देश चलाउने र नीति निर्धारण कर्ता लाई दिएको सल्लाह कार्यवण होस भन्ने आशा राख्द छु।