ठेकेदारले मनपरि शूल्क उठाउँदा इटहरीका सफारी चालक मारमा

Newslaya Home

ठेकेदारले मनपरि शूल्क उठाउँदा इटहरीका सफारी चालक मारमा

शुक्रबार २०, भदौ २०७६

इटहरी । ठेकेदारले मनपरि शूल्क उठाउँदा इटहरी उपमहानगरपालिकाका सफारी चालक मारमा परेका छन् ।

उपमहानगरपालिकाले भदौ ११ गतेदेखि लागू हुनेगरी राजमार्गमा पार्किङ गर्ने सिटी सफारीबाट शुल्क उठाउन पाथिभरा कन्सट्रक्सनलाई जिम्मा दिएको थियो । तर उक्त कन्सट्रकसनले मनपरि शूल्क उठाउन थालेपछि भने सफारी चालक दिक्क भएका हुन् ।

त्यसको विरोधमा उपमहानगर कार्यालयअगाडि सिटी सफारी चालकले आन्दोलन गर्दै आएका छन् । आफूहरुले कतै पार्किङ गर्ने स्थान पनि नपाएको तर पार्किङ शुल्कमा दैनिक १५ देखि ३० रुपैयाँ बुझाउनुपरेको उनीहरुको गुनासो छ ।

बिना कारण र प्रयोजन ठेकेदारले पैसा असुल्ने र श्रमजीवीलाई सताउने गरेको सफारी चालकहरुले बताए । इटहरी–४ स्थित वडा कार्यलयमा गएर उनीहरुले शुल्क फिर्ता लिनको लागि निवेदन समेत दिइसकेका छन् ।

ठेक्काको जिम्मा पाएको कम्पनीले बिल नै बनाएर पैसा उठाउन सुरु गरिसकेको छ । दैनिक पार्किङ तथा सरसफाइबापत भनेर शुल्क उठाउने गरिएको हो । त्यसैको विरुद्धमा सिटी सफारी चालकहरु आन्दोलित बनेका हुन् ।

इटहरी उपमहानगरपालिकाको आफ्नै पार्किङ स्थल भने छैन । पूर्वपश्चिम राजमार्ग र कोसी राजमार्गमा रोकिएका सफारीबाट शुल्क उठाउन थालिएको हो ।