अमेरिकामा भेटियो दुर्लभ दुईटाउके सर्प

Newslaya Home

अमेरिकामा भेटियो दुर्लभ दुईटाउके सर्प

शुक्रबार २०, भदौ २०७६

बिबिसि । अमेरिकाको न्यूजर्सी राज्यको जङ्गलमा दुइटा टाउको भएको दुर्लभ सर्प फेला परेको छ । टिम्बर र्‍याटलस्नेक जातको सो बच्चा सर्पलाई ‘डलब डेभ’ नाम दिइएको छ । सो जातको सर्प विषालु हुन्छ ।

एउटा पर्यावरणीय समूहले उक्त दुईटाउके सर्पलाई गत महिना फेला पारेको थियो । यो सर्पको दुईवटा पूर्ण विकसित शिर छन् । तिनमा दुईदुईवटा गरेर चारवटा आँखा र एकएकवटा जिब्रो छन् । ती अङ्ग क्रियाशील छन् ।

तर शरीर भने टाउकोमुनि एउटै छ ।

प्राकृतिक वासस्थानमा उसलाई बाँच्न गाह्रो हुने पर्यावरणविद् डेभ श्नाइडर बताउँछन् ।

उनी भन्छन्, ‘भाग्न खोज्दा उसको शरीर साह्रो हुन्छ र त्यसो हुँदा ऊ सजिलै अरू जीवको सिकार बन्न सक्छ ।’

सङ्कटापन्न र जोखिममा परेका सरिसृपहरूबारे अध्ययन गर्ने हर्पेटोलोजिकल असो‌शिअट्स नामक संस्थासँग आबद्ध श्नाइडरका अनुसार उनी र उनका एक सहकर्मीले अगस्ट २५ मा पाइन ब्यारन्सको जङ्गलमा डबल डेभलाई फेला पारेका थिए ।

र्‍याटलस्नेकले बच्चा जन्माएको हेर्दैगर्दा उनीहरूले दुईटाउके सर्प फेला पारेका थिए । शरीर जोडिएका जुम्ल्याहाको जन्म भएको जस्तै एउटै भ्रूणबाट दुईटाउके सर्पको पनि उत्पत्ति हुन्छ ।

श्नाइडर र उनका सहकर्मी दुवै जनाको नाम डेभिड भएकाले उनीहरूले सो सर्पलाई डबल डेभ नामकरण गरे । श्नाइडरले सो दुर्लभ सर्प आफूले राख्न र अध्ययन गर्न राज्यका सम्बन्धित निकायबाट विशेष अनुमति लिएको बीबीसीलाई बताए ।