विश्वकप छनोटमा नेपाल कुवेतसँग ७–० ले पराजित

Newslaya Home

विश्वकप छनोटमा नेपाल कुवेतसँग ७–० ले पराजित

शुक्रबार २०, भदौ २०७६

काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको छ । पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा ५ गोल खाएको हो ।

१९९४ को एसियाली खेलकुदमा पनि नेपाल ८–० ले पराजित भएको थियो ।

लज्जास्पद हारपछि नेपाली टिमका प्रशिक्षक योहान कालिनले आफूहरुको खेल मूर्खतापूर्ण रहेको र त्यसको विश्लेषण हुने बताएका छन् ।

कुवेतको जविर अल अहमेद अन्तर्राष्ट्रिय मैदानमा गएराति नेपाल कुवेतसँग खेलेको थियो ।

पछिल्लो पटक नेपाल र कुवेतबीच गत मार्चमा भएको दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्कोमा नेपाल १–० ले पराजित भएको थियो ।

पछिल्लो दुई खेल ठिकै देखिए पनि समग्रमा नेपालले कुवेतसँगको ६ खेलमा २२ गोल खाएर १ गोल मात्रै फर्काएको छ ।

फिफा वरीयतामा कुवेत १५६ औँ स्थानमा छ भने नेपाल १६६ औँ स्थानमा ।

नेपालले अब चाइनिज ताइपेइसँग उसैको मैदानमा भदौ २४ गते खेल्दैछ । विश्वकप छनोटमा समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन् ।