धनुषाका मेयर सहित चारजना विरुद्ध ज्यानसम्बन्धी कसुर मुद्दा

Newslaya Home

धनुषाका मेयर सहित चारजना विरुद्ध ज्यानसम्बन्धी कसुर मुद्दा

बिहीबार १९, भदौ २०७६

धनुषा । धनुषाको हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डलसहित चार जनाविरुद्ध ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता भएको छ ।

हँसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा विवादपछि भएको झडपमा घाइते एक बृद्धको मृत्यु भएपछि प्रमुख मण्डल, वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, वडा सदस्य श्याम राउत र वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध मृतक तपेश्वर मण्डलका छोरा राजकुमार मण्डलले बिहीबार मुद्दा दर्ता गराएका हुन् । गत साउन २१ गते प्रमुख मण्डलको अगुवाइमा अहिलेको केन्द्र हँसपुरबाट कार्यालय सार्न खोज्दा झडप भएको थियो।

झडपका क्रममा नगरप्रमुख पक्षका व्यक्तिहरूले आक्रमण गर्दा तपेश्वर मण्डलसहितका ६ जना घाइते भएका थिए। सामान्य घाइतेहरूको उपचार भए पनि गम्भीर घाइते तपेश्वर अञ्चल अस्पताल जनकपुरमा उपचाररत थिए। उपचारको क्रममा बुधबार राति ५५ वर्षीय तपेश्वरको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार मुद्दा दर्ता भएपछि प्रमुख मण्डलसहितका चारै जनाको खोजी सुरु गरिएको छ ।