यस्तो बन्यो ‘कतार विश्वकप २०२२’को लोगो

Newslaya Home

यस्तो बन्यो ‘कतार विश्वकप २०२२’को लोगो

बिहीबार १९, भदौ २०७६

दोहा । ‘कतार विश्वकप २०२२’को लोगो तथा प्रतियोगिताको मिति सार्वजनिक भएको छ । विश्व फुटबलको महाकुम्भ २०२२ मा पहिलो पटक जाडो याममा हुँदैछ । प्रतियोगिता २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ । प्रतियोगिता सुरु हुन तीन वर्ष बाँकी रहँदा फिफाले प्रतियोगिताको आधिकारिक लोगो सार्वजनिक गरेको हो ।

प्रतियोगिताका अघिल्ला संस्करणहरु जुन–जुलाईमा आयोजना गरिँदै आए पनि खाडी मुलुक कतारमा सो समय प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि यो संस्करण जाडो याममा आयोजना गरिन लागिएको हो । कतारी अधिकारीहरुले जाडो याममा लगाइने परम्परागत उनको सलबाट प्रेरित हुँदै प्रतियोगिताको लोगो बनाइएको जनाएका छन् । कतारी अधिकारीले भने, ‘लोगोमा भएको कर्भले सामुदायिक छाल र पूरा लोगोको स्वरूपमा भएको अंग्रेजीको ‘आठ’ ले कतारका ८ रंगशालालाई जनाउँछ ।’

विभिन्न अड्कलबाजीका बावजुद कतारले विश्वकपका लागि पछिल्लो समय रंगशाला निर्माणमा तीव्रता दिएको छ । प्रमुख आकर्षणका रूपमा हेरिएको खलिफा अन्तर्राष्ट्रिय रंगशाला प्रयोगमा आइसकेको छ, जहाँ कतारले यसै वर्ष विश्व एथ्लेटिक्स च्याम्पियनसिप आयोजना गर्दैछ ।

कतारले २०१० मा विश्वकप २०२२ आयोजनाको अधिकार पाएको थियो । नोभेम्बर २१ बाट डिसेम्बर १८ सम्म हुने प्रतियोगितामा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । फिफाले यसअघि नै अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा अयोजना गर्ने २०२६ विश्वकपमा भने सहभागी राष्ट्रको संख्या बढाएर ४८ पुर्याउने निर्णय गरिसकेको छ ।