मोफसलका फुटबल प्रतियोगितालाई व्यवस्थित गर्न एन्फाको २८ बुँदे नियमावली

Newslaya Home

मोफसलका फुटबल प्रतियोगितालाई व्यवस्थित गर्न एन्फाको २८ बुँदे नियमावली

बिहीबार १९, भदौ २०७६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलमा हुने फुटबल प्रतियोगितालाई व्यवस्थित गर्न २८ बुँदे ‘मोफसल फुटबल प्रतियोगिता नियमन नियमावली २०७६’ जारी गरेको छ ।

एन्फाले प्रतियोगितालाई व्यवस्थित बनाउन प्रतियोगिता स्थल, खेल मैदान, सुरक्षा, टिमको स्थान लगायतका विषयमा नियमन गर्न लागेको हो ।

‘क’ वर्गको प्रतियोगितामा कम्तिमा १० वटा टिमको सहभागिता हुनु पर्नेछ । जसमा ६ वटा ए डिभिजन क्लल हुनु पर्नेछ । जसमा पछिल्लो लिगअनुसार शीर्ष ६ मा परेको बाट ४ वटा, ७ देखि १०औं स्थानमा रहेको १ वटा र ११ देखि १४ स्थानबाट १ क्लब हुनु पर्नेछ । सम्भव भए विदेशी क्लब हुनु पर्नेछ भने आयोजक, मोफसल र प्रदेश टिमलाई समावेश गर्नु पर्नेछ ।

‘ख’वर्गको प्रतियोगितका लागि कम्तिमा १० वटा टिम हुनु पर्नेछ भने ६ वटा ए डिभिजन क्लब समावेश गर्नु पर्नेछ । जसमा शीर्ष ६ का २ क्लब, ७ देखि १० स्थानका २ र ११ देखि १४ स्थानका २ क्लब हुनु पर्नेछ । सम्भव भए १ विदेशी, आयोजक र प्रदेश टिम हुनु पर्नेछ ।

‘ग’ वर्गको प्रतियोगिताका लागि ८ टिमको सभागिता हुनु पर्नेछ । जसमा ४ वटा ए डिभिजन क्लबलाई समावेश गर्नु पर्नेछ । जसमा लिगको शीर्ष ६ का १ क्लब, ७ देखि १० मध्येबाट २ क्लब र ११ देखि १४ मध्येबाट १ क्लब हुनु पर्नेछ । आयोजक र प्रदेश टिमलाई पनि स्थान दिन सकिनेछ ।

प्रतियोगिताका लागि रेफ्री, सहायक रेफ्री, रेफ्री एसेसर र म्यान कमिस्नार एन्फाले खटाएको हुनु पर्ने भने सेवा एन्फाले तोके बमोजिम हुनु पर्नेछ ।

प्रतियोगिता संचालन गर्न १ महिनाअघि नै स्वीकृति लिनुका साथै एन्फामा दर्ता भएका खेलाडीले मात्र प्रतियोगितामा भाग लिन पाउनेछन् । ‘क’ वर्गको प्रतियोगिताका २० हजार, ‘ख’ वर्गका लागि १५ हजार र ‘ग’ वर्गका लागि १० हजार रुपैयाँ दर्ता शूल्क लाग्नेछ ।

सुरक्षा, डाक्टर, एम्बुलेन्स, व्यवस्थित चेन्जिङ रुप र प्लेयर बक्स हुनु पर्नेछ । खेलाडी र अफिसियलको बीमा अनिवार्य रुपमा गर्नु पर्नेछ ।

क वर्गको प्रतियोगिताको पुरस्कार राशी १० लाख, ख वर्गको ८ लाख र ग वर्गको ६ लाख रुपैयाँ पुरस्कार राशी हुनु पर्नेछ । कुनै एक क्लब एक महिनामा तीन भन्दा बढी प्रतियोगितामा सहभागी हुन पाउने छैन ।

विदेशी खेलाडीका लागि श्रम स्वीकृति, कार्य सहमति र भिसाका लागि सिफारिस सम्बन्धि मापदण्ड पालना गर्नुपर्ने एन्फाले जनाएको छ ।