'विजयपुर अस्पतालले पुर्वमै विशिष्ट स्वास्थ्य सेवा दिइरहेको छ'

Newslaya Home

'विजयपुर अस्पतालले पुर्वमै विशिष्ट स्वास्थ्य सेवा दिइरहेको छ'

बिहीबार १९, भदौ २०७६

धरानमा विगत ६ वर्षदेखि निजी क्षेत्रबाट सुविधासम्पन्न विजयपुर अस्पताल सञ्चालन भइरहेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछि धरानमा स्थापना भएको यो अस्पताल एक सय भन्दा बढि शैय्या क्षमताको छ । केहि वर्षदेखि यस अस्पतालमा प्लाष्टिक सर्जरी सेवा पनि सञ्चालनमा आएको छ । यसै अस्पतालको सेवा सुविधाको विषयमा प्रालिका अध्यक्ष पंकज खतिवडासंग न्युजलयकी सरिता भण्डारीले लिएको अन्तरवार्ताः

अहिले केमा व्यस्त हुनुहुन्छ ?
विजयुर अस्पतालको अध्यक्ष भएसँगै यसको सञ्चालनमा नै व्यस्त छु । प्राइभेट हस्पिटल एसोसिएसनको सचिबमा रहेर तीन वर्ष देखि काम गर्दै आएको छु । अन्य अस्पतालहरुको समस्या समाधानका लागि माथिल्लो निकाय सम्म पहल गर्नने कार्यहरुमा व्यस्त छु ।

विजयपुर अस्पतालबाट प्रदान गरिने सेवा सुविधाहरु के के छन् ?

हाम्रो अस्पतालले पुर्वमै विशिष्ट स्वास्थ्य सेवा दिइरहेको छ । हामीले विगत ७० साल देखि नै साधारण मानिसलाई आवश्यक पर्ने सम्पूर्ण विशेषज्ञ सुविधा उपलब्ध गरेका छौं । बाल रोग विशेषज्ञ सेवा, जनरल फिजिसी सेवा, जनरल सर्जरी, अर्थोपेडिक सर्जरी, गाइनोक्लोजि, छाला रोग विशेषज्ञ, रेडियोलोजि, प्याथोलोजि जस्ता विशेषज्ञहरुबाट दैनिक रुपमा चौबिसै घण्टा सर्भिस उपलब्ध गराएका छौं । साप्ताहिक रुपमा नाक, कान, घाँटी विशेषज्ञ सेवा र मासिक रुपमा एक पटक प्लाष्टिक सर्जरी विशेषज्ञ सेवा पनि सञ्चालन गरेका छौं ।

प्लाष्टिक सर्जरी भनेको केहो ? यसको बारेमा केही जानकारी गराइदिनुस् न ?
प्लाष्टिक सर्जरी भनेको दुई किसिमको रहेको हुन्छ । एउटा आफू जस्तो छ त्यो भन्दा राम्रो बन्नका लागि गरिने हुन्छ । जसलाई कस्मेटिक भनिन्छ । अर्को भनेको आवश्यकता अनुसार गरिन्छ । कुनै दुर्घटना तथा आगोले पोलेका कारण दाग लागेर शरीरको छाला बिग्रिएको हुन्छ, त्यस्तोलाई अप्रेशन गरि अरु ठाउँको छाला ल्याएर राखेर आधुनिक हिसाबले सर्जरी गरेर राम्रो बनाउने हुन्छ ।

तर कस्मेटिक कस्तो हुन्छ भने आँखाको नानी बनाउने, जस्तै सानो आँखाको नानी रहेको छ भने चिम्रो रहेको छ भने त्यसलाई ठूलो बनाउने, कतिपय महिलाहरुले आफ्नो सौन्दर्यको लागि डिम्पल बनाउने गर्दछन् जुन नभएकाहरु लाई रहर हुन्छ ।

अनावश्यक बोसोहरु धेरै भएर आफूलाई भद्धा जस्तो लागेको छ भने त्यसलाई निकालेर फाल्ने । काटेर बोसो निकालेर फाल्न पनि सकिन्छ । ब्रेस्टलाई आफ्नो साइज अनुसारको ठूलो सानो बनाउन सकिन्छ । आँखाको बनावट साथै अनुहारमा कसैले कोठी हटाउने कसैले राख्ने गर्दछन् ।

कसैको ओठ पूर्ण रुपमा रातो बनाउन परेमा यस्ता कस्मेटिक सर्जरीहरु उपलब्ध छन् । एसिडको प्रभावले छालामा दाग लागेको, दुलो परेको हुन सक्छ ।  पहिलेकै जस्तै बनाउन पनि सकिन्छ ।

यसको प्रयोगले कुनै असर त गर्दैन नि ?
त्यस्तो किसिमको असर गर्दैन किनभने एक त बिग्रीसकेको चिज हुन्छ, त्यसलाई बनाउने हो । बनाउने क्रममा अनिवार्य बिग्रिएकै हुन्छ । असर भन्नाले कहिले काहीँ स्क्रिन ग्राफ्टिङ्ग गर्दा पाक्ने डर हुन सक्छ तर त्यो भनेको बिग्रिनु हैन । फेरी इन्फेक्सन भयो भने त्यसलाई रिपिएर गरेर पूर्ण रुपमा तयारी गर्न सकिन्छ ।

धरानको कुरा गर्ने हो भने यहाँ दक्षिण एसियाको एक उत्कृष्ट मानिने विपि स्वास्थ्य प्रतिष्ठान रहेको छ । उपचारका लागि त्यो अस्पताल नगई बिरामीहरु यहीँ किन आउँछन् त ?
 सानो अस्पतालमा आउनै हुन्न भन्ने काहीँ पनि छैन । जस्तै उसलाई फिजिसियन चाहिएको छ भने ठूलो अस्पतालमा जाने होकी सानोमा जाने ? आखिर डाक्टरले उति नै पढेको हुन्छ ।

एउटै इन्सिच्युटबाट डिग्री सकेर आएका डाक्टरले उपचार भनेको एउटै गर्ने हो । ठूलो हस्पिटल जानको कारण के हुन्छ भने कुनै ठुलो रोग लागेको छ भने त्यो रोगको एउटा मात्रै डाक्टरले उपचार गर्न सम्भव नहुन सक्छ । त्यसको लागी पुरै टिम लागेर जुन दश ओटा विशेषज्ञ मिलेर उपचार गर्नुपर्ने अवस्था हुन्छ । त्यसको लागि ठूलो इन्स्टिच्युट जानै पर्छ हामीले पनि पठाउनै पर्छ ।

हामी सँग १२ जनासम्म विशेषज्ञ रहेका छन् । हामीसँग भएको सेवाको लागि हामी नै पर्याप्त छौं ।

आगामी दिनहरुमा अन्य के के सेवा सुविधा थप गर्ने योजनामा हुनुहुन्छ ?
अहिले प्रदान गर्दै आएको यिनै सेवालाई निरन्तरता दिन सकियो भने त्यो पनि एउटा राम्रो पक्ष हो । यी बाहेक अब हामीले साधारण विशेषज्ञ सेवालाई बढाएर उत्कृष्ट विशेषज्ञ सेवा विस्तार गर्ने पक्षमा छौं ।

हामीले अहिले चैँ चार ओटा सम्म विशेषज्ञ सेवा प्रदान गर्ने तयारी गरिरहेको छौं । एमआर आई सेवा सन्चालन गर्ने सोचमा छौं ।

अहिले चिकित्सा आयोग गठन भएर उपाध्यक्ष चयन हुने प्रक्रिया छ सायद अब त्यो हुने बित्तिकै स्वास्थ्यसँग सम्बन्धित नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालनका लागि सोच बनाएका छौं । सरकारको कार्य योजना अनुसार भयो भने हामी पहिलो चरणमा हुने कुरामा ढुक्क छौं त्यसको लागि आन्तरिक तयारी गरिरहेका छौं ।

धेरै स्वास्थ्य संस्थाहरुले बिरामीलाई झन् बिरामी बनाउने किसिमको गतिविधि गर्दै आएका छन् । निजि अस्पतालले धेरै शूल्क असुल गरि रहेको पाइन्छ । निजी स्वास्थ्य संस्थाहरुले अत्याधिक शूल्क लिदै गर्दा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले तिर्नै पनि नसक्ने अवस्था पनि बनेको छ । तपाईको संस्थाबाट यो समस्या भन्दा फरक कस्तो अनुभूति पाउन सकिन्छ ?

व्यक्तिगत रुपमा कसैले धेरै शूल्क असुल गर्नु भनेको संस्थाको गल्ति नहुन सक्छ । एउटा संस्थाले लियो भनेर सबै संस्थाहरु लुट्नै मात्र थालेका छन् भन्ने पनि नहुन सक्छ ।

सरकारले स्वीकृत शैयाको दश प्रतिशतलाई चैँ निशूल्क सेवा दिने भन्ने एउटा अवधारणा ल्याएको छ । म आफैं पनि त्यो नियम बनाउने एक पक्षको सदस्य हुँ । त्यो भएकोले गर्दा म आफू कठिबद्ध छु र कोही बिरामी अशक्त, असहाय बनेर आएको छ भने त्यसको लागि हामीले नि:शूल्क उपचार पनि गर्नुपर्ने हुन्छ र गर्दै पनि आएका छौं ।

निश्चय नै निजी क्षेत्रको अस्पताल सञ्चालन गर्दा सरकारी स्तरको भन्दा केही महंगो पर्न सक्छ । सरकारी अस्पतालमा बोर्ड टाँसेको छ निशूल्क सेवा प्रदान हुन्छ भनेर तर डाक्टर उपलब्ध हुनु भएन भने त्यो सेवा सस्तो भयो की काम नलाग्ने ? 

अर्को कुरा हाम्रो अस्पतालमा उपचारको खर्च विवरण टाँसेर बिरामीलाई अग्रिम जानकारी गराइन्छ ।

 एउटा अस्पतालले बिरामीलाई झुक्काएर फाइदा लियो भन्दैमा समग्र निजी स्वास्थ्य संस्थाहरुलाई दोष लगाउनु भन्दा वास्तविकता के हो भनेर सचेत नागरिकले बुझ्न जरुरी छ ।

यो अस्पतालबाट कस्ता सामाजिक कार्यक्रम भइरहेका छन् ?
नियमित रुपमा स्वास्थ्य शिविरहरु सञ्चालन गरेकै छौं । प्रायजसो धरान क्षेत्र आसपासमा रहेका जति स्वास्थ्य संस्थाहरु छन् उहाँहरुको मेडिकल टेक्निकल सपोर्ट भनेको बिजयपुर हस्पिटल नै हो ।

यहाँ आएका गरीब बिरामीलाई नि:शूल्क उपचार गर्दिने, विभिन्न स्ववास्थ्य संस्थाहरुमा हाम्रो प्राविधिक टोली गएर हेल्थ क्याम्पहरु गर्ने गर्छौं ।

तपाईको विचारमा नेपालको स्वास्थ्य अवस्था कस्तो रहेको छ ?
अझै पनि अस्पतालहरुमा विशेषज्ञ सेवामा कमी नै छ । सरकारी र निजी दुबै स्तरबाट दिनुपर्नने सेवा  दिएको छैन । जस्तै धेरै अस्पपतालले फाइदा हुुुुदैन भनेर डेंंगो कीट दिनुुुुु भएन । तर हामीले दियौं ।

पहाडी तथा दूर्गम क्षेत्रमा प्राविधिक कर्मचारीहरु जान चाहँदैनन् । त्यो ठाउँमा अलिक नयाँ किसिमको सेवा सुविधा उपलब्ध हुनुप¥र्यो ।

अस्पतालको पनि प्राइभेटको कस्तो छ भने जाँजरकोटमा चलाउन पर्ने भौगोलिक मादण्ड र काठमाण्डौंमा चलाउन पर्ने अस्पतालको मापदण्ड एउटै छ ।

सरकारले पनि एउटा नीति, नियम र कानुन भित्र रहेर काम गर्नु पर्ने हुन्छ । निरन्तर रुपमा राज्य सत्ता परिवर्तन भएकै कारण पनि सबै कार्यमा दीर्घकालिन रुपमा समन्वय हुन सकिरहेको थिएन ।

तर अब बनेको सरकारको समय अवधी केही वर्ष लामो रहेको होला । त्यसकारण हाम्रो समस्या कार्यक्रमहरु सरकारले पनि सकारात्मक रुपमा लिएर कार्यन्वयन होला भन्ने आशा रहेको छ ।

अब अन्त्यमा आफ्नो सेवाग्राही तथा नगरवासीहरुलाई के भन्न चाहनुहुन्छ ?

बिरामी कोही ठगिएको, लुटिएको अथवा प्राइभेटले यस्तो कार्य गर्छ भन्ने मानसिकता केही मानिसमा छ । तर यो हस्पिटलमा आएपछि सम्भवत त्यो समस्या नहोला किनभने हामीले अग्रिम रुपमा सबै कुराको जानकारी गराएर उपचार गर्दै आएका छौं ।

अर्को विराटनगर अथवा काठमाण्डौमा हुने त्यही रोगको उपचार र हाम्रोमा हुने उपचारको तुलना गर्दा हाम्रो सस्तो छ । स्तरीय सेवा सस्तो मुल्यमा दिइरहेका छौं ।

सरकारीको तुलनामा भने केही महंगो छ । तर सेवा पनि स्तरीय छ ।

नेपाल सरकारले १०० बेडको स्वीकृति यो हस्पिटललाई दिएको छ भने पक्कै पनि पूर्वाधार नपुगी दिएको छैन होला । सुबिधाअनुसार हामीले सस्तो सेवा दिइरहेका छौं । केही सकारात्मक सुझाव छन् भने हामी सधै स्वागत गर्छौं ।