कश्मीरका लागि अन्तिम समयसम्म लड्ने पाकिस्तानी सेनाको उद्घोष

Newslaya Home

कश्मीरका लागि अन्तिम समयसम्म लड्ने पाकिस्तानी सेनाको उद्घोष

बिहीबार १९, भदौ २०७६

बिबिसि । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले कश्मीरका लागि नचाहँदानचाहँदै पनि युद्ध गर्नु पाकिस्तानको बाध्यता हुने बताएका छन् ।

उनले भने, ‘कश्मीरका लागि हामी अन्तिम गोली, अन्तिम सिपाही र अन्तिम सास रहेसम्म लड्नेछौँ ।’

‘कश्मीरीहरूको तेस्रो पुस्ताको डीएनएमा स्वतन्त्रताको भावना छ। जति दबाउन खोजियो त्यो त्यति बाहिर आउँछ,’ प्रवक्ता गफूरले थपे ।

भारतले कश्मीरमा हस्तक्षेप गरेपछि पाकिस्तान र भारतबीच तनाव चर्किएको छ । यही परिप्रेक्ष्यमा कश्मीरबारे कुरा गर्न पाकिस्तानी सेनाका प्रवक्ताले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

पत्रकार सम्मेलनमा उनले पाकिस्तानको भौगोलिक स्थितिलाई अन्तर्राष्ट्रिय जगत्‌ र क्षेत्रीय मुलुकहरूले बेवास्ता गर्न नसक्ने बताए । आफूहरू कश्मीरी जनतासँगै रहेको सन्देश दिन चाहेको सैनिक प्रवक्ता गफूरले तर्क गरे ।

कश्मीरी जनताले अहिले खेप्नुपरेको कठिनाइबारे आफूहरू अवगत रहेको भन्दै उनले अधिकार प्राप्तिको दिन आएरै छाड्ने बताए ।

गफूरले भने, ‘पाकिस्तानको स्वतन्त्रताका लागि सन् १९४७ मा नभई सन् १८५७ मै प्रयत्न थालिएको थियो । कश्मीरको स्वतन्त्रताका लागि कुनै किसिमको सम्झौता गरिनेछैन ।’

विशाल जनसङ्ख्या भएको भारतमा हिट्लरका अनुयायी सत्तामा रहेको उनको आरोप थियो ।

गफूरले भने, ‘भारतमा राष्ट्रिय स्वयंसेवक सङ्घ र नाजी विचारधारा सत्तामा छ । उनीहरूका कारण मुस्लिम र दलितसहित अल्पसङ्ख्यक समुदायका मानिसहरू खतरामा छन् । त्यहाँ धार्मिक र सामाजिक स्वतन्त्रता छैन ।’

भारतप्रशासित कश्मीरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको फासीवादी सरकारले नेहरूका कदमलाई निमिट्यान्न पारेको सैनिक प्रवक्ता गफूरले आरोप लगाए ।