उदयपुरमा प्याराग्लाइडिङ उडान शुरु

Newslaya Home

उदयपुरमा प्याराग्लाइडिङ उडान शुरु

बुधबार १८, भदौ २०७६

उदयपुर । जिल्लाको बेलका नगरपालिकाले नगरपालिका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्लाइडिङ उडान सञ्चालन गर्ने अभियान तीव्ररुपमा शुरु गरेको छ ।

समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट पटक–पटक प्याराग्लाइडिङ उडान परीक्षण गरेर सप्तकोशी बगरसम्म अवतरणको परीक्षण भएपछि अब यो क्षेत्रलाई एक नम्बर प्रदेशकै एक नम्बर प्याराग्लाइडिङ ‘हब’को रूपमा विकास गरेर वार्षिक ५० हजारसम्म पर्यटक भित्र्याउने अभियान शुरु गरिएको बेलका नगरपालिकाले बताएको छ ।

यसभन्दा अघि पनि बेलका क्षेत्रका दुई सय भन्दा बढी युवा तथा पर्यटक उद्यमीले प्याराग्लाइडिङ उडानको तालीम लिइसकेको र बेलका मैनामैनीको बोपताङ र चम्पाकोटबाट पटक–पटक प्याराग्लाइडिङ उडान सफल भएपछि अब आगामी कात्तिक महीनादेखिनै स्थायी र व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सञ्चालनमा ल्याउन अहिले अन्तिम तयारी भइसकेको नगपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।

बेलकाको मैनामैनीको चम्पाकोट र बोप्ताङबाट सप्तकोशीको बगरसम्म उडान गर्नका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार र निर्र्माण व्यवस्थापनको कार्य भइरहेको र यसका लागि बेलका प्याराग्लाइडिङ सङ्घ, सुनसरी चतरा प्याराग्लाइडिङ, पोखरा प्याराग्लाइडिङ तथा एशियन प्याराग्लाइडिङ समूहको आर्थिक लगानी र बेलका नगरपालिकाको पहलमा प्याराग्लाइडिङ सञ्चालन गर्ने कार्य तयारी तीव्ररुपमा भइरहेको पनि नगरपालिका प्रमुख थापाले जनाए ।

बेलकामा अहिले आर्थिक समृद्धि हासिल गर्न कृषि र पर्यटन दुई क्षेत्र महत्वपूर्ण रहेको र पर्यटनका लागि सप्तकोशीमा बोटिङ र प्याराग्लाइडिङ महत्वपपूर्ण रहेको कारण पनि अब आगामी कात्तिक महनादेखि पोखरामा जस्तै बेलकामा पनि व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान शुरु गर्ने उनले बताए ।

प्याराग्लाइडिङ सञ्चालनबाट बेलका क्षेत्रका २५० पचास युवाले प्रत्यक्ष रोजगारी पाउने, होटल, घरबास सञ्चालन हुँदा स्थानीयसमेत स्वरोजगार बन्ने र यसक्षेत्रको सांस्कृतिक तथा भौगोलिक अवस्थाको प्रचारप्रसार हुने अपेक्षा नगरपालिकाले गरेको छ ।