मोरङमा पनि सुरू भयो स्वास्थ्य बीमा

Newslaya Home

मोरङमा पनि सुरू भयो स्वास्थ्य बीमा

बुधबार १८, भदौ २०७६

विराटनगर । स्वास्थ्य बीमा दर्ता कार्यक्रम मोरङमा पनि सुरू भएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई स्वास्थ्य बीमा कार्ड प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा मन्त्री जीवन घिमिरेले कार्यक्रमबाट सर्वसाधारणहरु स्वास्थ्योपचारमा लाभान्वित हुने विश्वास व्यक्त गरे ।

मोरङमा १० लाख जनसंख्या रहेकोमा आउने आर्थिक वर्षसम्म ४ लाखको बीमा गरिने स्वास्थ्य बीमा बोर्डले अपेक्षा गरेको छ । पाँचजनाको परिवारले वार्षिक रू. ३५ सय तिरेमा १ लाखसम्मको सेवा प्राप्त गर्न सक्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

यस्तै ७० भन्दा माथिका नागरिक, कुष्ठरोगीको परिवार, एमडीआर टीबी भएकाको परिवार, एचआईभी संक्रमितको परिवार र पूर्ण अपांगता भएकाको परिवारले निःशुल्क स्वास्थ्यबीमाबाट १ लाखसम्मको उपचार पाउने बताइएको छ ।

स्वास्थ्य बीमा सञ्चालनका लागि १५९ जनालाई तीन दिने दर्ता सहयोगी तालीम प्रदान गरिएको स्वास्थ्य बीमा प्रदेश सहसंयोजक दुर्गा आचार्यले जानकारी दिइन् ।