जिल्ला अदालतको आदेशविरूद्ध रवि लामिछाने पुगे उच्च अदालत

Newslaya Home

जिल्ला अदालतको आदेशविरूद्ध रवि लामिछाने पुगे उच्च अदालत

मङ्गलबार १७, भदौ २०७६

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने जिल्ला अदालत चितवनको आदेशविरूद्ध उच्च अदालत पुगेका छन् ।

लामिछानेले मंगलबार पाटन उच्च अदालतको हेटौंडा इजलासमा निवेदन दिएका हुन् । उनको निवेदनमा आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गरिएको उच्च अदालतको हेटौंडा इजलासका सहरजिष्ट्रार केशर अर्यालले जानकारी दिए ।

लामिछानेको निवेदनमा आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने जिकिर गरिएको छ ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका लामिछाने र युवराज कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमशः पाँच र तीन लाख रुपैयाँ धरौटी मागेको थियो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सोही मुद्दामा पक्राउ परेकी अस्मिता कार्की रूकुलाई सामान्य तारेखमा छोड्न आदेश दिएको थियो ।