विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउन संघर्ष समिति गठन

Newslaya Home

विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउन संघर्ष समिति गठन

मङ्गलबार १७, भदौ २०७६

विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउन संघर्ष समिति गठन गरीएको छ । पर्यटन व्यवसायी पुन्यप्रसाद भट्टराईको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले संघर्षको पहिलो चरणमा पर्यटनमन्त्री योगेश भट्टराईलाई भेटेर विमानस्थल निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

१ नम्बर प्रदेश सरकारले समेत प्राथमिकतामा राखेको विराटनगर विमानस्थलको स्तर सुधारका लागि संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा रकम नछुट्याएपछि नागरिकस्तरबाट संघर्ष समिति गठन गरी सरकारलाई दवाव दिन लागिएको हो ।

विराटनगर विमानस्थलको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) स्वीकृति नगरी विराटनगरलाई दिनुपर्ने बजेट नेपालगञ्जलाई दिएपछि यस क्षेत्रका वासिन्दा संघीय सरकारसँग रुष्ट छन् ।

संघर्षको पहिलो चरण अन्तर्गत पर्यटनमन्त्रीलाई भेटेर समस्या अवगत गराइएको हो ।

विराटनगर १ नम्बर प्रदेशको राजनधानी घोषणा भएसँगै यहाँका पर्यटन व्यवसायीहरु विराटनगरबाटै ‘माउन्टेन फ्लाइट’ सञ्चालन गर्न उत्साही भएर लागेका थिए ।

त्रिभुवन विमानस्थलमा हवाई यातायातको चाप अत्यधिक बढेको हुँदा सो चापलाई घटाउन पनि विराटनगर विमास्थललाई अन्तर्राष्ट्रिय उडान भर्नसक्ने क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न खोजिएको हो । विश्वप्रसिद्ध हिमश्रृङ्खलाहरु १ नम्बर प्रदेशमै पर्ने हुँदा दृश्यावलोकनका लागि यहाँबाट पहाडी उडान सुरु गर्न लागिएको हो ।