धरानसँगै प्रदेश १ का यी ठाउँमा हुँदैछन् मंसिर १४ मा उपनिर्वाचन

Newslaya Home

धरानसँगै प्रदेश १ का यी ठाउँमा हुँदैछन् मंसिर १४ मा उपनिर्वाचन

मङ्गलबार १७, भदौ २०७६

इटहरी । मंसिर १४ मा ४७ जिल्लामा उपनिर्वाचन हुने भएको छ । विभिन्न कारणले रिक्त प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, वडाध्यक्ष ४१ सहित ५० पदका लागि निर्वाचन गर्न लागेको हो । वडा अध्यक्षभन्दा तलका पदमा भने उपनिर्वाचन गर्ने व्यवस्था सविधानमा छैन।

प्रदेश नं. १ मा उपमहानगरपालिका प्रमुखसहितको विभिन्न पदका लागि निर्वाचन हुने भएको छ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारका क्रममा गत वर्षको साउन १ मा निधन भएपछि रिक्त रहेको मेयर पदको लागि चुनाव हुने भएको हो ।

यस्तै पाँचथर फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको गत माघमा मृत्यु भएको थियो भने संखुवासभाको मकालु गाँउपालिकाका अध्यक्ष खड्ग कटुवालको मृत्यु २०७४ साल पुसमै भएको थियो।

विभिन्न स्थानीय तहका ४१ वडामा उपनिर्वाचन हुने भएको छ। पाँचथरमा फिदिम नगरपालिकाको १ र हिलिहाङ ७ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुनेछ । मोरङको धनपालथान २, सुनसरीको धरान उपमहानगरपालिका ७ मा वडाध्यक्ष पद खाली छ ।

संखुवासभाको खाँदबारी ३,खोटाङको साकेला गाउँपालिका ३ सप्तरीको छिन्नमस्ता ७ मा पनि वडाध्यक्षको लागि निर्वाचन हुनेछ ।


सांसदको लागि उपनिर्वाचन हुन लागेका निर्वाचन क्षेत्रहरु
गत फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की २ सहित ५० पदका लागि निर्वाचन हुन लागेको हो ।

यसैगरी, दाङ ३ ‘ख’ बाट प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तमकुमार ओली, भक्तपुर १ खबाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछाने र बागलुङ २ खबाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद टेक बहादुर घर्ती विजयी भएको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

ओलीको सवारी दुर्घटनापछि उपचारका क्रममा मृत्यु भएको थियो। लामिछानेको मस्तिष्कघातका कारण ज्यान गएको थियो। जन्डिसका बिरामी घर्तीको भारतमा उपचारकै क्रममा मृत्यु भएको थियो।


यस्तो अवस्थामा हुन्छ उपनिर्वाचन
संघीय सांसदले सभामुखलाई राजीनामा दिएमा, तोकिएको योग्यता नपुगेमा, सदनको कार्यकाल सकिएमा, सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा, सम्बन्धित दल त्याग गरेमा र मृत्यु भएमा पद रिक्त हुने संविधानको धारा ८९ मा व्यवस्था गरिएको छ ।

प्रदेशसभा सदस्यको स्थान खाली हुने अवस्था पनि संघीय सदन अनुसारकै बनाइएको छ । प्रदेश सदस्यले राजीनामा दिने भए प्रदेश सभामुखलाई बुझाउनुपर्नेछ ।

४० करोड रुपैया खर्च हुने
उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले प्रारम्भिक चरणमा २५ करोड निकासा गरिसकेको छ । आयोगले ४० करोड खर्च लाग्ने प्रारम्भिक अनुमानसहित बजेट निकासाका लागि आग्रह गरेको थियो ।