आज तीज, ब्रत बसेर र शिव मन्दिरमा पुजा गरेर महिलाहरुले तीज मनाउँदै

Newslaya Home

आज तीज, ब्रत बसेर र शिव मन्दिरमा पुजा गरेर महिलाहरुले तीज मनाउँदै

सोमबार १६, भदौ २०७६

काठमाडौं । नेपाली नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् ।

पानीसमेत नखाई व्रत बसेर भगवान शिवको पूजा गर्दै तीज मनाउने यो दिन बिहानैदेखि शिवालयहरुमा भीड बढेको छ । काठमाडौंको पशुपतिसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको हो ।

तीजको व्रत बसेर शिवको पूजा गरेमा श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने विश्वास छ । अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बसेर शिवको पूजा गर्ने परम्परा छ ।

तीजसम्बन्धी पौरणिक कथामा पनि हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको व्रत सफल भएको प्रसंग छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सबै महिलालाई तीज पर्वको शुभकामना दिएका छन् । तीजका लागि सरकारले आज सार्वजनिक विदा दिएको छ ।