बिदेशबाट कर तिर्न आएं, नगरपालिका लिन मिल्दैन भन्छ

Newslaya Home

बिदेशबाट कर तिर्न आएं, नगरपालिका लिन मिल्दैन भन्छ

- अमृत खड्का
बिहीबार १२, भदौ २०७६

मेरो नाम अमृत खड्का हो । म विगत ६ वर्षदेखि संयुक्त अरब इमिरेट्समा स परिवार बस्छु । म चार्टर्ड एकाउन्टेन्ट हुँ । त्यहाँ मेरो आफ्नै फर्म र सुपरमार्केट छ ।

पाँच वर्षमा पहिलो पटक १० दिनका लागि नेपाल आएको छु । तर नेपाल बसाई दुई साता लम्बिसक्यो । मोरंगको उर्लाबारी नगरपालिकाको राजनीतिका कारण मेरो काम हुन सकेको छैन । फर्कुँ, कामै भएको छैन, नफर्कुँ, काम हुने छाँट छैन । त्योभन्दा ठूलो समस्या उताको मेरो व्यापार चौपट हुन्छ । म एकदमै निराश भैसकेको छु ।

बुवा आमाको लागि घर किनिदिनको लागि म यहाँ आएको थिएँ । जग्गा धितो राखेर बैंकबाट ऋण लिई उर्लाबारीमा घर किन्ने मेरो सपना यो पटक त्यत्तीकै होला कि भन्ने डर छ । किनकी नगरपालिकाको सबै काम ठप्प छ । न कर लिन्छन्, न अरु सिफारिस नै गर्छन् ।
यहाँका दलहरुको राजनीतिको शिकार हामी आम सर्वसाधारण हुनुपरेको छ । अर्काको देशमा परिवार र कारोबार छाडेर आएको छु । गएर फेरी फर्किहाल्न पनि समय मिलाउनुपर्छ । के गर्ने, के नगर्ने दोधारमा छु ।

यो बिचमा मेरो कमाइअनुसार १० हजार दिराम जति तलब लस भयो । क्लाइन्टको काम चेक गर्न सकिएको छैन । एउटा क्लाइन्टको भ्याट रिटर्नको लागि वर्षको १२ हजार दिराम दिएको हुन्छ । यो भनेको साढे तीन लाख रुपैया हो । एउटा क्लाइन्ट रिसायो भने वर्षको साढे तीन लाख रुपैया लस हुन्छ ।

सुपरमार्केट त मैले अरुलाई हेरिदिँदै गर्न भनेर जिम्मा दिएको छु । चेक इस्यु गरेको हुन्छ । पैसा जम्मा भएन भने चेक बाउन्स हुन्छ । मेरो एउटा हाउस रेन्टको रेन्टल चेक त अस्ती बाउन्स भइसक्यो । पैसा जम्मा गर्न पाईनँ अनि उसलाई खबर पनि गर्न पाइनँ ।

आर्थिक क्षती र क्लाइन्टहरुले ठूलो महत्व राख्छ । त्यसमाथि त्यहाँको कानुन कडा छ, काममा सजग नभए सडकमै आउने खतरा हुन्छ । विश्वसनीयता गुम्यो भने त्यहाँ अर्को अवसर छैन ।

म पनि अन्तर्राष्ट्रिय ट्याक्सेसनमा काम गर्छु । संसारमा त्यस्तो कुनै देश छैन, जहाँ ट्याक्स लिन्नँ भन्छ । तर नेपाल नै त्यो देश हो, जहाँ कर पनि लिँदैन । जनताले कर तिर्छु भन्दा पनि पाउँदैनन् ।

यहाँको विवाद ठूलो कुरै होइन । पुरानै दरमा कर उठाउँदा पनि हुन्थ्यो । त्यसमाथि स्टे अर्डर लिएर पनि काम गराउँदा हुन्थ्यो कि भन्ने उपायमा पनि योजना बनाउनुपथ्र्यो ।

यहाँको सिस्टम देखेर मलाई दिक्क लागिसक्यो । हामीले नै तिरेको करबाट अफिस, गाडी, भत्ता दिएर राख्दा पनि काम हुँदैन भने योभन्दा दुर्भाग्य केही हुँदैन । मजस्ता धेरै मानिस छन्, जसले दुःख पाइरहेका छन् । यहाँका बैंकहरुको काम ठप्प भएको छ । काम र पढाइको लागि विदेश जानेहरुसमेत रोकिएका छन् ।

(उर्लाबारीका मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीबिचको झगडाले मुद्धा मामिलाको रुप लिँदा अहिले अदालतको आदेशअनुसार सबै वडामा जन्म, मृत्यु, विवाह तथा बसाइँ सराई बाहेकका सबै काम रोकिएको छ ।)