यो दशैँमा आधा नयाँ नोट, आधा सुकिला नोट

Newslaya Home

यो दशैँमा आधा नयाँ नोट, आधा सुकिला नोट

शनिबार ०७, भदौ २०७६

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले यो पटकको दशैँमा भने केही दरका नोट नयाँ नछाप्ने योजना बनाएको छ ।

विशेषगरी १०, २० र ५० रुपैयाँ दरका नोट नयाँ नछाप्ने र गोदाममा रहेका सुकिला नोट प्रयोग गर्ने राष्ट्रबैंकको तयारी छ । दशैँमा १०, २० र ५० दरका नोट धेरै उपयोग हुने गरेका छन् ।

राष्ट्रबैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार ५, १००, ५०० र १००० दरका नोट भने नयाँ छपाइ गरिने छ ।

बर्सेनि दशैँमा नोट छपाइमा मात्रै १ अर्ब रुपैयाँभन्दा धेरै खर्च हुँदै आएको छ ।

अघिल्लो वर्षको दशैँमा पनि नेपाल राष्ट्रबैंकले ७९ करोड रुपैयाँ खर्च गरेको थियो । हरेक वर्ष नोट मैलो हुँदा र च्यातिँदा राष्ट्रबैंकले छपाइको लागि ठूलो मात्रामा पैसा खर्च गर्दै आएको छ ।

नेपालमा नोटको सुरक्षामा ध्यान नदिँदा बर्सेनि करोडौँ रुपैयाँ खर्च भैरहेको भन्दै राष्ट्रबैंकले नागरिकस्तरमा कसरी पैसा सफा राख्ने, कसरी कच्याककुचुक नपार्ने लगायतका जनचेतना दिने प्रयास गरिरहेको छ । तर पनि पैसामा केरकार गर्ने, फोहोर गर्ने, कच्याककुचुक पार्नेलगायतका समस्या हटेका छैनन् ।