झापा कारागारमा भिडियो कनफ्रेन्स सेवा सञ्चालनमा

Newslaya Home

झापा कारागारमा भिडियो कनफ्रेन्स सेवा सञ्चालनमा

बुधबार ०४, भदौ २०७६

भद्रपुर । झापा कारागारमा कैदीबन्दीमाथि हुने सुरक्षा चुनौती र आर्थिक भारलाई कम गर्न उद्देश्यले भिडियो कनफ्रेन्स सेवा सञ्चालनमा ल्याइएको छ ।

कारागारमै एउटा छुट्टै कोठामा जडान गरिएको भिडियो कनफ्रेन्स सेवा मंगलबारदेखि प्रयोगमा ल्याएको हो। विद्युतीय अपराधसम्बन्धी मुद्दा लागेका इलाम घर भई हाल झापा भद्रपुर ८ बस्ने कुमार खनाललाई काठमाडौं जिल्ला अदालतका न्यायाधीससँग भिडियो कनफ्रेन्सबाटै बयान गराई उक्त सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ।

यसले अन्य जिल्लामा बयानका लागि अदालत पठाउँदा एक जना कैदी बन्दी बराबर दुई जना सुरक्षाकर्मी र एक जना कर्मचारी अनिवार्य पठाउनु पर्ने र सुरक्षा चुनौती रहेका जिल्लाहरूमा तीनदेखि चारजनासम्म प्रहरी पठाउनु पर्ने समस्यालाई कम बनाउने बताइएको छ ।

देशभरिका कारागारमध्ये ८ देखि १० वटा कारागारमा मात्र भिडियो कनफ्रेन्स जडान भएको जनाइएको छ।