नेपाल–भारत बैठकमा छैन कोशी पीडितको ऐजेण्डा

Newslaya Home

नेपाल–भारत बैठकमा छैन कोशी पीडितको ऐजेण्डा

मङ्गलबार ०३, भदौ २०७६

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक भदौ ४ र ५ गते काठमाडौमा बस्दैछ । तर पूर्वका सप्तकोशी पीडितहरुले उठाउँदै आएको मुआबजाको विवाद यो बैठकमा पनि नपर्ने भएको छ ।

वर्षौंदेखि सप्तकोशीको डुबान तथा कटानबाट पीडित बनेका सुनसरी, सप्तरी, उदयपुर जिल्लाका हजारौं कोशी पीडितको माग सम्बोधन नहुने भएको हो ।

दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने उक्त आयोगको बैठकमा समावेश गरिने नेपालका एजेन्डामा कोशी पीडितको ऐजेण्डा समावेश छैन । कोशी सम्झौताअनुसार कोशी बाँधका कारण विस्थापितहरुले क्षतीपूर्ती पाउने व्यवस्था भएपनि कोशी पीडितहरुले क्षतीपूर्ती पाउन सकेका छैनन् । नेपालले नै माग नराखेका कारण क्षतीपूर्ती पाउन नसकेको भारतीय अधिकारीहरुले जानकारी दिँदै आएका छन् । कोशी पीडितहरुको माग पुरा गराउन यो बैठकमा ऐजेण्डा लगेर ध्यानाकर्षण गराउन सके एउटा सम्भावना बन्ने विज्ञहरुले जानकारी दिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक गरेको ऐजेण्डाअनुसार मुख्यतः पाँच विषयमा छलफल गरिनेछन् । राजनैतिक, सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृतिबारेका विषय आयोगको बैठकका एजेन्डा हुने उनले बताए ।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकर सहभागी हुने बैठकमा विगतमा सरकार प्रमुखबीच भएका सम्झौताको कार्यान्वयनबारे पनि छलफल हुने भएको छ।

भारतले नेपालमा लगानी गर्ने भनेर गरेका प्रतिबद्धताबारे पनि कुरा उठाउने नेपाली पक्षले जानकारी दिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघिका नेपाल भ्रमणमा गरेका प्रतिबद्धता पूरा नगरेको नेपाली पक्षको भनाइ छ ।

त्यस्तै सीमा र विवादीत सन्धीको पुनरावलोकनको विषयमासमेत छलफल गरिने बताइएको छ । सन्धी पुनरावलोकन गर्नका लागि दुवै मुलुकले ईपीजीको गठन गरी प्रतिवेदन तयार गरेका थिए ।

तर, प्रतिवेदन तयार भइसक्दा पनि भारतीय पक्षले उक्त प्रतिवेदन बुझ्न नमानेको बताइएको छ । सिमानाका भारतीय संरचना एजेन्डा दुई देशको उच्चस्तरीय कमिटी बैठकमा सिमानामा भारतले निर्माण गरेका संरचना र तिनले नेपालमा पारेको प्रभावबारे पनि छलफल हुने भएको छ ।