बिरामी बेहोस पारियो, तर लो भोल्टेजको कारण अपरेशन भएन

Newslaya Home

बिरामी बेहोस पारियो, तर लो भोल्टेजको कारण अपरेशन भएन

मङ्गलबार ०३, भदौ २०७६

विराटनगर । गत साउन २४ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा एक जना बिरामीलाई अपरेशन गर्नको लागि अपरेशन कक्षमा लगियो । एनेस्थेसियासमेत दिएर बिरामी बेहोस पारियो, तर अपरेशन हुन सकेन ।

अस्पतालमा जेनेरेटर बिग्रिएको र लो भोल्टेजका कारण विद्युत्ले काम नगरेको भन्दै मोरङ कानेपोखरी बयरवनकी भुटाही चौधरीको अपरेशन रोकियो । दुई दिनपछिका लागि सारिएको उनको शल्यक्रिया अहिलेसम्म लो भोल्टेजकै समस्या देखाएर रोकिएको छ ।

मोरङको विराटनगर र कटहरीमा लो भोल्टेज र ट्रिपिङको समस्याले सर्वसाधरण, स्वास्थ्य संस्था र उद्योगहरु प्रभावित बनेका छन् । लो भोल्टेजकै कारण कोशी अञ्चल अस्पतालको २ वटा डायलसिस मेसिन बिग्रिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । पानीको मोटर नचल्दा शुद्ध पानी दिन उपलब्ध गराउन नसकेको अस्पतालले जनाएको छ ।

कहिलेकाहिँ विद्युत् नहुँदा हाते पंखा चलाएर बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको कर्मचारी तथा चिकित्सकहरु दुःखेसो गर्छन् । विद्युतका कारण समयमै ल्याब परीक्षणका रिपोर्टहरू दिन नसकेको अस्पताल प्रशासनले जनाएको छ।