मोरङमा मोबाइल चोरेको आरोपमा एक किशारमाथि दुई घण्टासम्म निर्घात कुटपिट

Newslaya Home

मोरङमा मोबाइल चोरेको आरोपमा एक किशारमाथि दुई घण्टासम्म निर्घात कुटपिट

सोमबार ०२, भदौ २०७६

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ पोठियाका १७ वर्षीय एक किशोरलाई गाउँकै युवाहरूले दुई घण्टासम्म निर्घात कुटपिट गरेको घटना र त्यसको भिडियो सार्वजनिक भएको छ ।

मोबाइल चोरेको आरोप लगाउँदै युवाहरुले मोहम्मद नउसाद मियाँमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । नउसादमाथि बूढीगंगा–४ कै २२ वर्षीय सादीर मियाँ, २० वर्षीय अंसद मियाँ, १८ वर्षीय अफजल मियाँ र बूढीगंगा–५ का २१ वर्षीय आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्म लगातार कुटपिट गरेको प्रहरीको भनाइ छ ।

घटनाको भिडियो पनि बाहिरिएको छ । प्रहरीका अनुसार घटनामा संलग्नमध्ये अफजल मियाँले भिडियो खिचेको र अन्य तीन जनाले कुटपिट गरेका हुन् । मोबाइलबाट मोबाइल हुँदै भिडियो फैलिएको प्रहरीले जनाएको छ । गाली गलौज गर्दै कुटपिट गरिएको भिडियोमा देख्न सकिन्छ ।

वडा अध्यक्षका छोराले बोलाएको भन्दै गत बिहीबार साँझ ५ बजे घरैबाट एक किलोमिटर जति पर चौरमा लगेर साँझ ७ बजेसम्म कुटपिट गरेको बुवा मोहम्मद अलिम मियाँले बताए ।

भिडियोमा तीन जनाले कुटपिट गरेको देखिन्छ । अलिमले साथी–साथीबीचमा मोबाइल हेर्ने क्रममा आइतबार साँझ भिडियो बाहिरिएपछि घटनाका बारेमा परिवारले जानकारी पाएको बताए ।

‘घटनाका बारेमा कोही कसैलाई भनेमा मारिदिन्छौं भन्ने धम्की दिएका रहेछन्,’ उनले भने, ‘ डरका कारण चार दिनसम्म घटनाका बारेमा छोराले सुनाएन ।’ नउसादका ठूलो बुवा कलिमुद्धिन मियाँले घरमा लुगा धोइरहेका बेला बोलाएर लगेर भतिजमाथि सामूहिक आक्रमण गरिएको बताए । उनका अनुसार कुटपिटबाट ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

इलाका प्रहरी कार्यालय नेमुवाका सई जीवनकुमार गौतमले भिडियो बाहिरिएपछि मात्रै घटनाका बारेमा चाल पाएको बताए । विराट नर्सिङ होममा घाइतेको उपचार भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको गौतमले जानकारी दिए ।