विप्लवका रसुवा जिल्ला कमिटी सदस्यद्वारा आत्मसमर्पण

Newslaya Home

विप्लवका रसुवा जिल्ला कमिटी सदस्यद्वारा आत्मसमर्पण

सोमबार ०२, भदौ २०७६

काठमाडौं । प्रतिबन्धित विप्लव माओवादीका रसुवा जिल्ला कमिटी सदस्य तथा युवा संगठनका केन्द्रीय सदस्य योर्साङ घलेले आत्मसमर्पण गरेका छन् ।

गत जेठ २७ मा जिल्लाका जनसरकार प्रमुख, किसान जिल्ला संयोजकलगायतले आत्मसमर्पण गरेको केही समयपछि विप्लव समूहका रसुवाका प्रभावशाली नेता मानिने घलेले पनि उक्त समूहसँगको सम्बन्ध विच्छेद गरेका हुन् ।

घलेले जनप्रतिनिधि, नागरिक समाज र पत्रकारहरूको रोहवरमा विप्लव समूहको साधारण सदस्यसमेत नरहने गरी आइतबार जिल्ला प्रशासनसमक्ष आत्मसमर्पण गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

पार्टी त्यागको घोषणा गरेका घलेले सरकारले लगाएको प्रतिबन्धको समर्थन गर्दै प्रचलित कानूनको अधीनमा रही सर्वसाधारणसरह जीवनयापन गर्ने प्रतिबद्धता जनाएका छन् ।