‘प्रतिष्ठानमा आउने नयाँ भीसी थप अधिकारसम्पन्न हुनुपर्छ’

Newslaya Home

‘प्रतिष्ठानमा आउने नयाँ भीसी थप अधिकारसम्पन्न हुनुपर्छ’

सोमबार ०२, भदौ २०७६

वीपी प्रतिष्ठान धरानका भीसी राजकुमार रौनियारलाई घुससहित अख्तियारको टोलीले समातेपछि उनी बर्खास्त भए । उनको ठाउँमा रेक्टर गुरु खनाललाई निमित्तको जिम्मेवारी दिइएको छ । निकै सिमित अधिकारहरुका बिच रहेर पनि उनले प्रतिष्ठानका कामहरुलाई अघि बढाइरहेका छन् ।

रौनियारलाई पहिले पनि प्रतिष्ठानको सिनेट बैठकले हटाउने निर्णय गरिसकेको थियो । त्यो समयमा प्रतिष्ठान हाँक्ने जिम्मा खनालले नै पाएका थिए । तर पछि रौनियारले अदालतको स्टेअर्डर लिएर आएपछि खनाल पछि सरेका थिए ।

अहिले फेरी प्रतिष्ठानको नेतृत्व लिएका खनालले सबैको सल्लाह र सहयोगमा प्रतिष्ठानको पुरानो छवी र अवस्थालाई सुधार गर्न खोजिरहेका छन् । उनीसँग न्युजलयका लागि हिमाल दाहालले गरेको कुराकानी :

अहिले जटिल घटनाक्रमपछि प्रतिष्ठानको कार्यवाहक भिसि बन्नुभएको छ । अहिलेको यो अवस्थालाई कसरी हेर्नुभएको छ ?

अवस्था जटिल छ, तर जति नै जटिलता भएपनि अफ्ठ्यारा परिस्थितीका बिच अगाडि बढ्न र सहज तरिकाबाट जान प्रयासरत् छौं । अहिले पदाधिकारी हेर्ने हो भने अस्पताल निर्देशक र म निमित्त उपकुलपतिको हैसियतमा छौं । सिमित अधिकारका बिच हामी अघि बढीरहेका छौं ।
तर पनि हामीले अस्पतालमा आइपर्ने दैनिक कामहरु, इमरजेन्सीका कामहरु, पठन पाठनका कामहरु र अन्य अनुसन्धानका कामहरुलाई रोकेका छैनौँ । र सुधारको विषयमा टिमसँग छलफल गरेर अगाडि बढिरहेको अवस्था छ ।

यो प्रतिष्ठान पुर्वको प्रमुख स्वास्थ्य गन्तव्यमा पर्छ । तर पनि विभिन्न किसिमको समस्याले जकडेको जस्तो देखिन्छ, खासमा अवस्था कस्तो छ ?

प्रतिष्ठानको यो समस्या आजको समस्या होइन, विगत लामो समयदेखि नै प्रतिष्ठानमा देखिरहेको समस्या हो । एकातिर बिरामीको चाप बढ्दो छ भने अर्कोतिर लामो समयदेखि यहाँ कुनै पनि नयाँ संरचना बनाउन सकिरहेको अवस्था छैन ।

बिरामीको चापअनुसार सेवा दिनका लागि हामीले अन्य भवन बनाउने कुरा थियो । चार सय बेडको एमसिएच । २–२ सय बेडको कार्डियो अर्कोलोजी सेन्टर बनाउनुपर्नेमा विभिन्न कारणले गर्दा रोकीएको अवस्था छ । जबसम्म यी भवनहरु बन्दैनन्, तबसम्म बिरामीहरुको चाप धान्न सक्ने अवस्था छैन ।

यो विषयमा हामीले नेपाल सरकारसँग समस्याहरु राखेका छौँ । चाँडै नै निकास हुन्छ भन्ने आशा लिएका छौँ ।

पहिलादेखि नै यी भवनहरु बनाउनुपर्छ भन्ने आवश्यकता बोध थियो । प्रयास पनि भएको, तर मन्त्रीको ठाडो आदेशले रोकियो भन्ने कुरा आयो । अत्यावश्यक भवन निर्माण गर्न किन रोकियो ?

यी कामहरु मन्त्रीले रोकेको हैन । वहाँले त प्रतिष्ठानमा भएका समस्याहरु समाधान गर्न पहलहरु गरिरहनु भइरहेको छ अहिलेपनि । केहि समय अगाडि वहाँ आफै आएर अनुगमन गरेर जानु भएको हो । लामो समयदेखि किन यी काम रोकिएका छन् भनेर बुझिसक्नु भएको छ । केहि समयमा सबै समस्याहरु समाधान हुन्छ भन्ने आशा छ ।

प्रतिष्ठानको अवस्था सुधार गर्नका लागि के–के योजनाहरु बनाउनु भएको छ ?

दुई किसिमका योजनाहरु छन् । पहिलो त, तुरुन्त गर्नुपर्ने कामहरुको योजना एकातिर छ भने अर्कोतिर दीर्घकालिन योजनाहरु छन् । आजभन्दा २५ वर्ष अगाडि बनाएको इमरजेन्सीले नै अहिले पनि सेवा दिइ राख्नु परेको छ ।

त्यो बेलाभन्दा अहिले बिरामीको लोड धेरै बढेको अवस्था छ । हुन त पछिल्लो समय इमरजेन्सीको अर्को भवन बनाउन सुरु भइसकेको छ । तर अझै पनि ल्याब, रेडियोलोजि, एक्सरे, एमआरआइ अल्ट्रासाउण्डजस्ता सधै दिनुपर्ने सेवाहरुमा पनि बिरामीको बढ्दो संख्या र मेसिनको अभाव छ । यस्ता समस्याहरुलाई सम्बन्धित निकाय, स्वास्थ्य निकाय, प्रधानमन्त्री कार्यलयमा पनि पुर्याएका छौँ । केही समयमै यी सबै समस्याहरु समाधान हुनेछन् ।

अहिलेसम्म यहाँको सेवा सुविधा विस्तारको कामलाई के ले रोकेको छ ? किन सेवा विस्तार नभएको हो ?

सरकारले यो प्रतिष्ठानलाई जति बजेट दिनुपर्ने थियो त्यति बजेट हामीलाई नदिएको अवस्था छ । केहि समयदेखि हाम्रा आफ्ना कमि कमजोरीले पनि यो विस्तार हुन समस्या भएको हो भन्ने मलाई लाग्छ ।

काठमाडौको वीर अस्पताललाई जति बजेट दिइन्छ, त्योभन्दा धेरै बिरामी आउने धेरै पुर्वाधार भएको यहा बजेट आउदैन भन्ने कुराहरु आएको छ । अब यो बजेटलाई बढाउने केहि पहलहरु भएकाछन् ?

अहिले तुरुन्तै बजेट बढ्न सक्ने कुरा होइन । दीर्घकालिन योजना बनाइरहेको अवस्था छ । यी योजनाहरुका साथ हामी नेपाल सरकारसँग छलफल गर्नेछौँ । यो प्रतिष्ठान पुर्वकै १४ जिल्ला मात्र नभएर भारतबाट पनि आएका बिरामीहरु आइरहेको अवस्था छ । यहाँका चिकित्सकहरुलाई बाहिर जान निषेध छ ।

तर बस्नका लागि दिनुपर्ने जति सुविधा पनि दिन सकिरहेको छैन । त्यसैले नेपाल सरकारलाई के भन्न चाहन्छु भने यो प्रतिष्ठान र अन्य प्रतिष्ठान, अस्पताललाई एउटै नजरले नहेरीदिउँ । छुट्टै ढंगले हेरेर बजेट विनियोजन गर्नुपर्छ भन्ने अनुरोध पनि गर्छु ।

भनेपछि बजेटको व्यवस्था नै बीपी प्रतिष्ठानको अवस्था सुधार गर्ने मुख्य विकल्प हो ? कति बजेट दियो भने पर्याप्त हुन्छ ?

नेपाल सरकारले यो प्रतिष्ठानलार्ई भनिदिनुपर्यो कि हामी यति बजेट दिन्छौं, बाँकी आफ्नै कमाइबाट गर्न सक्नुपर्छ भनेर ।

नेपाल सरकारले हामीलाई बार्षिक ५० देखि ५८ करोड दिइरहेको छ भने अहिलेको खर्च हेर्ने हो भने दुई अरब ४० करोडको हाराहारी हुन्छ । यो खर्चको आधा हिस्सा जति नेपाल सरकारले दिने हो भने यो प्रतिष्ठानको उद्देश्यअनुसार हामी चल्न सक्छौँ ।

यस्तै हाम्रो जनशक्ती र पूर्वाधारले पढाउन सक्ने जति विद्यार्थी लिनुपर्छ । कोटा बढाउनुपर्छ । यदि त्यस्तो गर्ने हो भने आर्थिक समस्याहरु नपर्न सक्छ ।

मुख्य समस्या भनेको सरकारले यहाँ थोरै बजेट दिएको छ, त्यो एउटा पाटो हो । अर्को समस्या भनेको जति बजेट दिएको छ त्यतिको पनि काम नहुँदो रहेछ । भ्रष्टाचार हुँदो रहेछ नि । अनि कसरी विश्वास गर्ने र बजेट दिने ?

यी समस्याहरु त बीपी प्रतिष्ठानको मात्र नभएर देशकै समस्याहरु हुन् । विगतमा भएका घटनाक्रमहरुले पाठ सिक्ने मौका पाएका छौँ । अब आउने दिनहरुमा फेरी यस्ता घटनाहरु नदोहोरीएलान् भन्ने विश्वास दिलाउन चाहन्छु ।

अब प्रतिष्ठानमा सुधार आउँछ भनेर कसरी विश्वास दिलाउनु हुन्छ ?

प्रतिष्ठानमा सुधार ल्याउनलाई एक जनाले मात्र सकिदैन । र हामीले यो प्रतिष्ठानलाई सुधार्नका लागि सामुहिक छलफल र निर्णय गर्नुपर्ने हुन्छ । विगतमा सामुहिक छलफल र निर्णय नभएको कारणले पनि यस्तो परिस्थिती आएको हो ।

मैले कार्यवाहकको जिम्मेवारी लिएको एक महिना भयो । म आएपछि यहाँका कर्मचारी, युनियन र अन्य सरोकारवालासँग छुट्टा छुट्टै छलफल गरी प्रतिष्ठानमा भएका घटनाक्रम र क्षतीको विषयमा छलफल गरेको छु । वहाँहरुले पनि सुझाव दिनुभएको छ र पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिसक्नुभएको छ ।

अब प्रतिष्ठानले कहिले शक्तिशाली उपकुलपति पाउला ?

त्यसको लागि त सरकारको निर्णय पर्खनुपर्छ । अहिले दक्ष र क्षमतावान उपकुलपतिको जरुरी छ । विगतका घटनाहरुलाई नेपाल सरकारले नजिकबाट हेरेको हुनाले पनि सक्षम नेतृत्व चाहिन्छ भन्ने विषयमा सरकार कन्भीन्स भइसकेको छ ।

तपाईको दावेदारी पनि त दह्रै छ नि ।

मैले जुनसुकै भुमिका पाए पनि मेरो ठाउँबाट प्रतिष्ठानको हितमा भुमिका खेल्नेछु र सहयोग गर्नेछु । जो भएपनि राम्रो र सक्षम नेतृत्व हुनुपर्छ । तर मेरो आग्रह के भने अब बन्ने भीसी पहिलाभन्दा शक्तिशाली हुनुपर्छ । त्यो भयो भने मात्र प्रतिष्ठानका अहिलेसम्मका समस्या र बेथिती समाधान गर्न सक्छ । अधिकार कटौती गर्दा समस्याहरु ज्यूँका त्यूँ रहन्छन् ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

विगतमा जुन ढंगले प्रतिष्ठान चलिरहेको थियो, केही वर्षयतादेखि बिग्रँदो अवस्था रहेको मैले भनिरहनु पर्दैन । सबैलाई के भन्छु भने, तपाईहरुले प्रतिष्ठानलाई जसरी नियालिरहनुभएको छ र सल्लाह सुझाव दिइरहनुभएको छ, आशा छ, अझ धेरै सल्लाह, सुझाव र सहयोग दिनुहुनेछ । आशा गरौं, आगामी दिनमा हामी सामुहिकताको माध्यमबाटै प्रतिष्ठानको विकास गर्न सक्नेछौं ।