ला लिगामा एथ्लेटिको मड्रिडको विजयी सुरुवात

Newslaya Home

ला लिगामा एथ्लेटिको मड्रिडको विजयी सुरुवात

सोमबार ०२, भदौ २०७६

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले गेटाफेलाई १–० ले पराजित गरेको छ । एथ्लेटिको मड्रिडको जितमा २३ औँ मिनेटमा अल्भारो मोराटाले गोल गरेका हुन् ।

आइतबार रातिको खेलमा मारोटाको गोलपछि केही समयमा दुवै टिम १० खेलाडीमा सीमित भए । थोमस पार्टीसँगको ट्याकलका लागि जोर्गे मोलिनाले सुरुमा पहेँलो कार्ड पाएका थिए । तर भिएआरबाट रिभ्यू गरिएपछि उनले रातो कार्ड पाए । त्यसको ६ मिनेटपछि एथ्लेटिकोका रिनान लोडी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

खेलको ५५ औँ मिनेटमा युवा स्टार खेलाडी जोआओ फेलिक्सले उत्कृष्ट प्रदर्शन गरे । उनले सुन्दर तबरले बलमा नियन्त्रण कायम गर्दै प्रहार गरेका थिए । तर गोल भने हुन सकेन ।

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति नै भएका अन्य खेलमा एलाभेसले लेभान्टेलाई १–० तथा सेभिल्लाले स्पानियोललाई २–० ले पराजित गरेको छ ।