होन्डुरसमा फुटबल खेल्नुअघि समर्थकबीच झडप हुँदा तीन जनाको मृत्यु

Newslaya Home

होन्डुरसमा फुटबल खेल्नुअघि समर्थकबीच झडप हुँदा तीन जनाको मृत्यु

आइतबार ०१, भदौ २०७६

काठमाडौं । होन्डुरसको राजधानी टिगुसिगाल्पामा शनिबार फुटबल म्याचअघि समर्थकबीच दोहोरो झडप हुँदा तीन जनाको मृत्यु भएको छ ।

मोटागुवा र ओलिम्पियाबीचको म्याच हुनुभन्दा केही समय अघि समर्थहरुबीच झडप हुँदा अन्य १० जना घाइते भएको बताइएको छ । शनिबार साँझ मोटागुवाको टिमबसमा एक समूहले ढुंगा प्रहार गरेपछि झडप सुरु भएको थियो । खेलाडी चढेको बसमा ढुंगा हान्दा बसका सिसा फुटेर तीन जना खेलाडी समेत घाइते भएका छन् ।

त्यसपछि दुई टिमका समर्थकबीच रंगशाला अगाडि झडप भयो र खेल स्थगित गरियो ।

केही व्यक्तिमाथि गोली र छुरा प्रहार समेत भएको थियो । घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालका प्रवक्ताले बताएका छन् ।

झडप हुँदा १० हजारभन्दा बढी समर्थक त्यहाँ उपथित रहेको बताइएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो । मोटागुवा क्लबले आक्रमणपछि घाइते खेलाडी र क्षतिग्रस्त बसको फोटो राखेर ट्वीट गरेको छ ।

घटनामा इमिलियो इजागुयरे, रोबर्टो मोरेरा र जोनाथन रुगियर नाम गरेका खेलाडी घाइते भएका थिए । ओलिम्पिया फुटबल क्लबका समर्थकमाथि कडा कारबाही हुनुपर्ने मोटागुवा क्लबको माग छ ।