भदौ दोस्रो सातादेखि उपत्यकामा विद्युतीय बस सञ्चालनमा आउने

Newslaya Home

भदौ दोस्रो सातादेखि उपत्यकामा विद्युतीय बस सञ्चालनमा आउने

आइतबार ०१, भदौ २०७६

काठमाडौं । भदौको दोस्रो सातादेखि उपत्यकामा विद्युतीय बस सञ्चालनमा आउने भएको छ । सुन्दर यातायात प्रालिले उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

चिनियाँ कम्पनी बिएके ब्याट्री इन्क कम्पनीले निर्माण गरेका ती बसमा ४० वटा यात्रु बस्न मिल्ने सिट छन् । भदौ ९ गतेभित्र विद्युतीय बस सञ्चालनमा ल्याइने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । यात्रु सिट बाहेक ३० जना यात्रुहरु उभिएर यात्रा गर्न सक्नेछन् भने ७० जना यात्रु बोक्न सक्ने बसको क्षमता छ ।

विद्युतीय सवारी साधनको भाडादर भने निर्धारण भइनसकेको र सरकारलाई भाडादर निर्धारण गरिदिन माग गरेको समितिले जनाएको छ ।

‘सरकारले भाडादर त निर्धारण गरिदिएको छैन। तर पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनभन्दा विद्युतीय बसबाट यात्रा गर्ने यात्रुहरुलाई २० देखि २५ प्रतिशतसम्म छुट हुने हामीले व्यवस्था गछौंं,’ अध्यक्ष थापाले भने ।

यस्तै, सुन्दर यातायातमा ६५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने छन् । शारीरिक अशक्त भएका व्यक्तिहरुका हकमा समेत सरकारले दिएको सेवाभन्दा उचित सेवा उपलब्ध गराउने बताइएको छ ।

सुन्दर यातायातका विद्युतीय बस १० दशमलव ५ मिटर तथा ८ दशमलव ५ मिटर गरी दुई साइजका छन् । एउटा बसको मूल्य १ करोड ६२ लाख छ । कम्पनीले बसलाई ७ वर्षको वारेन्टी दिएको छ ।

गाडीको अगाडी र बीच भागमा २ वटा ढोकाहरु राखिएका छन् । दुवै ढोका ड्राइभरको कन्ट्रोलमा खोल्न तथा बन्द गर्न सकिन्छ । यात्रुहरुको सुरक्षा तथा निगरानीका लागि बसमा ७ वटा सिसी क्यामेरा जडान गरिएको छ । चालकबाटै क्यामेराको निगरानी गरिन्छ ।

यस्तै, चालु आर्थिक वर्षमा २५ वटा विद्युतीय बस सञ्चालनमा ल्याइने सुन्दर यातायात सञ्चालक समितिले जनाएको छ ।

‘हामीले यही महिनाभित्रमा ११ वटा बस भित्र्याउने लक्ष्य लिएका छौँ, चालु आर्थिक वर्ष भित्रै २५ वटा बस भित्र्याउँछौँ,’ अध्यक्ष थापाले भने । जसमध्ये १८ वटा उपत्यका भित्र र बाँकी ७ वटा उपत्यका बाहिर समेत लैजाने अध्यक्ष थापाले बताए । एक नम्बर प्रदेशमा समेत गाडी लैजाने योजना बनाएको अध्यक्ष थापाले बताए ।