३४ हजार सहकारीलाई पाँच हजारमा झारिने

Newslaya Home

३४ हजार सहकारीलाई पाँच हजारमा झारिने

शनिबार ३२, साउन २०७६

हकाठमाडौं । देशभरका ३४ हजार ८ सय ३७ सहकारीलाई मर्ज गरी पाँच हजारमा झारिने भएको छ ।

धेरै संख्यामा सहकारी संस्थालाई अनुगमन र सुपरीवेक्षण गर्न असहज हुँदा सुशासनमा समस्या देखिएको भन्दै मर्ज गरी पाँच हजारमा झार्नुपर्ने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले बताए । अहिले देशमा सात सय ५३ स्थानीय तह छन् । एक स्थानीय तहमा कम्तिमा सातवटा सहकारी भए गरिबी निवारण गर्न र रोजगारी सिर्जना गर्न सकिने अभियानबाटै आवाज उठ्न थालेको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३२औं स्थापना दिवसका अवसरमा बोल्दै अध्यक्ष बडालले सहकारी अराजकहरूको जत्था नभएको बताए । पछिल्लो समयमा सहकारीको स्वतन्त्रता र स्वायत्तताका नाममा बहस भएको भन्दै सहकारीले सिद्धान्त र मर्मभन्दा बाहिर जान कसैलाई छुट नभएको उनको भनाइ छ ।

सहकारीको आधिकारिक निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए)को सिद्धान्त पालना गर्न उनले नेफ्स्कुनलाई आग्रह गरे । अध्यक्ष डीबी बस्नेतले अनुगमनले मात्रै सहकारी सुशासनमा रहने भएकाले अनुगमनलाई विशेष प्राथमिकता दिएको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आउँदो पाँच वर्षभित्र सहकारी मर्ज गरेर आधा बनाइने बताइन् । सहकारीमा एकरूपता ल्याउन सन्दर्भ ब्याजदर (कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने) तोकिएको उनको भनाइ थियो ।

सांसद तथा नेफ्स्कुनका पूर्वमहासचिव घनश्याम खतिवडाले सहकारीले बैंक कम्पनीजस्तो नाफा गर्ने संस्था नभएकाले ब्याजदर अझै घटाउनुपर्ने बताए ।