१२ करोडको मेसिन पर्खँदै १३ करोडको ल्याण्डफिल्ड

Newslaya Home

१२ करोडको मेसिन पर्खँदै १३ करोडको ल्याण्डफिल्ड

शुक्रबार ३१, साउन २०७६

इटहरी । इटहरी उपमहानगरपालिकाले १३ करोड रुपैया खर्च गरेर ल्याण्डफिल्ड साइड बनाएको महिनौं बितेपनि प्रयोगमा आउन सकेको छैन । कालोपत्रे सडक र सेड निर्माण गरेपनि प्रयोगमा नआउँदा भत्किने अवस्थामा पुगेको छ ।

२०७१ सालदेखि इटहरीको फोहोर व्यवस्थापन गर्ने र त्यसबाट बायोग्याँस उत्पादन गर्नको लागि ल्याण्डफिल्ड साइड बनाउन थालिएको थियो ।

इटहरी १० डुमटकामा टिनको छानो लगाएर सेड बनाएको छ भने त्यहाँसम्म पुग्ने बाटो कालोपत्रे गरेर सोलार लाइटसमेत जडान गरिसकेको छ । तर फोहोरबाट बायोग्याँस उत्पादन गर्ने मेसिन किन्न ढिलाई हुँदा त्यो संरचना प्रयोगमा नआउँदै भत्कने अवस्थामा पुगेको छ । सेडमा झार र रुख पलाइसकेको छ ।

इटहरीबाट दैनिक उत्पादन हुने १५ टन फोहोर संकलन गरी बायोग्याँस, प्राङ्गारिक मल उत्पादन गर्ने योजनाका साथ सो संरचना बनाइएको हो । तर फोहोर व्यवस्थापनको जिम्मा लिएको वेस्ट इन्भारो मेनेजमेन्ट प्रालिले मेसिन किन्न नसक्दा फोहोर प्रशोधनको काम सुरु हुन नसकेको हो ।

विश्व बैंकको ४० प्रतिशत अनुदान पाउने भएपछि इटहरी उपमहानगरपालिकाले हतार हतार गरेर उक्त कम्पनिसँग सम्झौता गरेको थियो । मेसिन खरीदकै लागि १२ करोड बढी खर्च लाग्ने अनुमान गरिएको छ । तर मेसिन किन्न कम्पनिका शेयरधनीहरुले पैसा झिक्न आनाकानी गरेपछि लामो समय खरीद प्रक्रिया अवरुद्ध बनेको थियो ।

ल्याण्डफिल्ड साइड इटहरीको बुढी खोलामा पर्छ । खोलाकै सतहमा बनाइएकोले त्यहाँ मेसिन राख्दा भोलि डुबानको सम्भावना हुने शंका गरिएको छ । त्यसमाथि नेपालमा त्यती धेरै प्रयोगमा नआएको प्रविधि प्रयोग गर्दा प्राविधिक र आर्थिक जोखिम हुने भन्दै लगानीकर्ताहरुले शंका व्यक्त गरेपछि मेसिन किन्ने काममा ढिलो भएको थियो । मेसिनसहित परियोजनाको कुल लागत १९ करोड अनुमान गरिएको छ ।

समयमा काम नहुने भएपछि गत पुुसमा कम्पनिले नगरपालिकासँग समय बढाउनको लागि आग्रह गरेको थियो । आउँदो पुस सम्ममा मेसिनले उत्पादन नथाले विश्व बैंकले दिने भनेको ४० प्रतिशत अनुदान नदिने इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले बताए ।

समय सकिन लागेपछि भने कम्पनिले अहिले मेसिन किन्ने प्रक्रिया अघि बढाएको छ । कम्पनिका कार्यकारी निर्देशक मानध्वज मोक्तानका अनुसार मेसिन किन्ने लगभग टुंगो भएको छ । ‘जतिसक्दो छिटो मेसिन प्रयोगमा ल्याउने तयारीमा छौं, कम्तीमा ८ महिना लाग्छ,’ उनले भने । ल्याण्डफिल्ड साइडलाई बाढीले समस्या नगर्ने विषयमा उपमहानगरपालिकाले विश्वास दिलाएको मोक्तानले बताए ।

मेसिन खरीद गर्ने प्रक्रिया अघि बढाएपनि मेसिन आउन र आइसकेपछि पनि जडान र परिक्षण गर्न समय लाग्नेछ ।