धुवाँ फाल्दैमा डेंगु नियन्त्रण हुँदैनः स्वास्थ्य मन्त्रालय

Newslaya Home

धुवाँ फाल्दैमा डेंगु नियन्त्रण हुँदैनः स्वास्थ्य मन्त्रालय

बिहीबार ३०, साउन २०७६

इटहरी । फगिङ मेसिनले धुवाँ फाल्दैमा डेंगु नियन्त्रण नहुने स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।

इटहरी उपमहानगरमा भएको छलफल कार्यक्रममा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा विवेक लालले धुवाँ फाल्ने कार्यले डेंगु नियन्त्रणमा सकारात्मक प्रभाव नपार्ने बताएका हुन् ।

बरु यसले डेंगु नियन्त्रणको सट्टा जेष्ठ नागरिक र वालवच्चालाई हानी पुरयाउने उनले बताएका छन् । त्यस्तै स्वास्थ्य सचिव ड. पुष्पा चौधरीले डेंगु नियन्त्रणमा फगिङ उपयुक्त नरहेको बताएकी छिन् । उनले डेंगु फैलिसकेपछि नियन्त्रण हुन समय लाग्ने भएकाले संयमित रहन समेत आग्रह गरेकी छिन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक लालका अनुसार रोग नियन्त्रणमा खोज र नष्ट गर सर्च एण्ड डिस्टोए विधि नै प्रभावकारी हो ।

डेंगु नियन्त्रणको लागि फगिङ मेशिनको सट्टा जमेको पानी हटाउने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने डा. सुरेस मेहताले बताएका छन् । घर वरपर केहिमा पनि पानी जम्न नदिनु डेंगुवाट जोगिने प्रभावकारी उपाय भएको र यसका लागि ब्यक्ति र समूदायनै जागरुक हुनुपर्ने डा. विवेकलालले बताएका छन् ।

यस्तै इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीमा डेँगु नियन्त्रणका सवै कार्यमा उपमहानगर प्रतिवद्ध रहेको बताएका छन् ।