पाथीभरा गोल्डकप आजदेखि सुरु हुँदै

Newslaya Home

पाथीभरा गोल्डकप आजदेखि सुरु हुँदै

बिहीबार ३०, साउन २०७६

ताप्लेजुङ । ताप्लेजुङमा पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण बिहीबार (आज) देखि सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा रेडहर्ष क्लब इलाम र घरेलु टिम पोमु केछाङ स्पोर्टिङ क्लब भिड्दैछन् । खेल दिउँसो १ बजे ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु माविको मैदानमा सञ्चालन हुनेछ।

भदौ ६ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका १० टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब पाँचथर, यूकेएफसी दार्जिलिङ, गोर्खा स्पोर्टिङ क्लब दमक, रेडस्टार क्लब झापा, डाँगीहाट फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, एलाभेन एरोज क्लब दुहवी सुनसरी र आयोजक टिम सहभागी छन्।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने छन्। बाँकी पुरस्कार, खेलाडी व्यवस्थापनलगायत सबैको खर्च करिब ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको समितिका कोषाध्यक्ष विरु मोक्तानले बताए ।

प्रतियोगिताको समापन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा हुने जनाइएको छ ।