‘जीवनसँग खेलेर योगदान दिनेलाई केही नेताले सधैं बाइपास गरे’

Newslaya Home

‘जीवनसँग खेलेर योगदान दिनेलाई केही नेताले सधैं बाइपास गरे’

– नवराज मैनाली
बिहीबार ३०, साउन २०७६

म देशमा अग्रगामी परिवर्तन हुनुपर्छ भन्ने भावना बोकेर तात्कालिन माओवादीमार्फत् क्रान्तिमा होमिएको थिएँ । माओवादी द्वन्दकालमा म पक्राउसमेत परे । मलाई पूर्वका धेरै जेलमा राखियो । सेनाले जिउँदै पुर्नेसम्मका काम गर्यो ।

पछि युद्ध सकियो, तर हामी जनयुद्धमा लाग्ने मानिसहरु आर्थिक, भौतिक अवस्थामा कमजोर भयौं । ममात्र होइन, मसँग जो जो लाग्नुभएको थियो, वहाँहरुको गाह्रो अवस्था भयो । पुख्र्यौली सम्पत्ती भएकाहरुको त ठिकै हो, नत्र अरुलाई जीवनयापन गर्न नै गाह्रो भयो र अहिलेसम्म कतिको त्यो अवस्था छ ।

मैले पछि आएर तात्कालिन हाँसपोसा गाउँपालिकाको इन्चार्जसमेतको भूमिका निर्वाह गरेँ । संविधानसभाको चुनाव र त्यसपछिका चुनावहरुमा पनि पार्टीको लागि व्यापक खटेँ ।

पछि मलाई विदेश विभागमा काम गर्नु भनियो । मेरो घरको आर्थिक अवस्था पनि राम्रो थिएन । त्यसैले श्रमिकको रुपमा विदेश गएँ । म त्यहाँ जाँदा मेरो पारिवारिक अवस्था बिग्रने अवस्था आयो । तिम्रो परिवारको कारणले हाम्रो परिवार पनि बिग्रन लागेको छ भनेर धेरैले मलाई फोन गरेपछि म पाँच महिनामै फर्केर आएँ । म आउँदा मैले समस्या साँच्चिकै रैछ भन्ने थाहा पाएँ । पछि पारिवारीक सम्बन्ध मिल्न नसक्दा मैले सम्बन्ध विच्छेद गरेँ ।

त्यसबिचमा मेरो राजनीति सक्नको लागि नेकपाका नेताहरुले भूमिका खेले । माओवादी केन्द्रिय सदस्यसमेत भइसकेका निर्मल बरालले राकेश किराँतीलाई प्रयोग गरेपछि पेरिस डाँडामा कुर्सी भाँचेर हामी एउटा समुह हिड्यौं ।

जनवादी अभ्यासको कुरा गर्ने पार्टीले जनवादी अभ्यासचाहिँ गरेन । मलाई पार्टीको कुनै तहमा मलाई राखिएन । ७४ सालतिर कविता कार्यक्रममा सहभागि भएको समयमा मलाई मेरो पारिवारिक घटनाको आधारमा वर्तमान नेकपा इटहरी अध्यक्ष ज्वाला तामाङले प्रहरी पठाएर पक्राएछन् ।

मेरो पारिवारिक विवादलाई देखाउँदै मेरो ५४ सालदेखिको राजनीति सक्ने प्रयास गरियो । मेरो पारिवारिक समस्या बुझ्न छेउछाउ छिमेकी, घर, साथीभाईलाई सोध्दा भइहाल्छ नि । पछि मुकेश, रोजिना, सागरलाई पनि राखेर कुरा गरेँ ।

तर हिजोको समयमा योगदान दिने हामीहरुलाई बायस गरेर लगियो । केही नजान्ने र हिजो अस्ती आउनेहरुलाई जिम्मेवारी दिने काम गरियो । आफ्नै जीवनसँग खेलेर योगदान दिनेलाई पार्टीले सधैं बाइपास गर्यो ।

मलाई मेरो विषयमा सोध्न पार्टीले कहिल्यै बोलाएन । म फटाहा हुँ भने मैले कहाँ चन्दा उठाएँ, कहाँ, कसलाई धम्की दिएँ, कहाँ लुटपाट गरेँ, देखाइदिनुपर्यो ।

नत्र मलाई किन बायस गरियो रु मिलन बाँस्तोला कुनै कमिटिमा बस्दिनँ भन्दा पनि दिने । मलाई चाहिँ स्पष्टीकरणको पत्र पठाउने ?

मलाई विप्लवमा गयो पनि भनियो । पार्टीभित्र संघर्षका कुरा गर्नेलाई प्रतिबन्धित पार्टीमा लाग्यो भनिदिने चलन रहेछ । म आफै विप्लवको विरोधी हुँ । किनकी उसको कार्यनीति र कार्यदिशा गलत छ ।

आर्थिक, पारिवारिक अवस्था अनि पार्टीको वेवास्ताका कारण कति पार्टी कार्यकर्ताहरुले आत्महत्या गरेका छन् । मलाई पनि कहिले बद्नाम गर्ने, भूमिका नदिने गरेर आत्महत्या गर्न बाध्य पार्दैछन् ।