अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण भलिबल खेलमा नेपालको जित

Newslaya Home

अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण भलिबल खेलमा नेपालको जित

बिहीबार ३०, साउन २०७६

काठमाडौं । अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ । यही भदौ २ गतेबाट सुरु हुने एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हराएको हो ।

लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा बुधबार भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट २२–२५ गुमाएको नेपाल दोस्रो सेटमा लयमा फर्किएको थियो । नेपालले दोस्रो र तेस्रो सेट क्रमशः २५–१७, २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । नेपालले चौथो सेट २५–२३ ले गुमायो । दुवै टोलीले दुई÷दुई सेट जितेको अवस्थामा पाँचौं तथा निर्णायक सेट नेपालले १५–१३ ले जितेको थियो । सुरुवाती सेटमा केही अत्तालिएको नेपालले खेलभर प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो ।

नेपाल र अफगानिस्तानबीचको दोस्रो मैत्रीपूर्ण खेल बिहीबार हुनेछ । नेपालको हावापानीसँग घुलमिल हुन र नेपालसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्न अफगानिस्तानको टोली मंगलबार काठमाडौं आएको हो । एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।