म्यानमारमा डेँगुले लियो ४८ जनाको ज्यान, १० हजार ७ सय अझै प्रभावित

Newslaya Home

म्यानमारमा डेँगुले लियो ४८ जनाको ज्यान, १० हजार ७ सय अझै प्रभावित

बिहीबार ३०, साउन २०७६

याङ्गुन । म्यानमारमा डेँगुका कारण यस वर्ष ४८ जनाको मृत्यु भएको छ । गत सात महिनाको अवधिमा अरु १० हजार ७ सय ५७ जनामा डेँगुको सङ्क्रमणको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।

स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको विवरणमा एयेयार्वाडी क्षेत्रमा सबैभन्दा धेरै जना प्रभावित भएको उल्लेख छ । विभागका अनुसार एयेयार्वाडीमा डेँगुका कारण १९ सय ७४ जना प्रभावित भएको र ५ जनाको मृत्यु भएको छ । त्यसपछि धेरै याङ्गुन क्षेत्रमा १७ सय ८८ जना प्रभावित र १५ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

लामखुट्टेको टोकाइबाट हुने डेँगुबाट प्रभावित भएकाहरूमध्ये पाँचदेखि नौ वर्षसम्मको उमेर समूहका धेरै रहेका छन् ।