रवि लामिछानेलाई पक्राउ गरिने

Newslaya Home

रवि लामिछानेलाई पक्राउ गरिने

बुधबार २९, साउन २०७६

काठमाडौं । चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछानलाई पक्राउ गरि कारवाही अगाडी बढाउने जनाएको छ ।

पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो । बुधबार पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले बताएका छन् ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला मल्लले रविसहित तीनजनाविरुद्ध कारवाही थालिएको जानकारी दिएका हुन् । जसमा पत्रकार पुडासैनीले भिडियोमा बताएका नामहरु रवि, युवराज कँडेल र ओखलढुंगाकी युवती अस्मिता कार्कीलाई पक्राउ गरि कारवाही गर्न लागिएको हो ।

एसपी मल्लले पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो ल्याबमा परीक्षण भइसकेको पनि जानकारी दिए । उनका अनुसार ल्याव परीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ।