दलितले दिएको खाएको भन्दै वृद्धलाई सामाजिक वहिष्कार

Newslaya Home

दलितले दिएको खाएको भन्दै वृद्धलाई सामाजिक वहिष्कार

बुधबार २९, साउन २०७६

खोटाङ । खोटाङमा एक वृद्धलाई दलितले दिएको खाएको भन्दै सामाजिक वहिष्कार गरिएको छ ।

जसमा खोटाङको दिक्तेल नगरपालिका–१ का एक ७६ वर्षीय टंकप्रसाद आचार्य सामाजिक वहिष्कारको शिकार भए ।

उनी आफूलाई न्याय माग्दै बुधबार प्रदेशसभा भवन परिसरमा आएका छन् । उनलाई आफ्नै दाजुभाइ र छिमेकीले दलित सहभागी सह–भोजमा सहभागि भएको भन्दै वहिष्कार गरेका हुन् ।

आचार्यका अनुसार बहिष्कार गर्नेमा जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगी आफ्नै नाताका गणेश आचार्य, प्रहरी महेश आचार्य तथा स्थानीय झनप्रसाद आचार्यलगायत रहेका छन् ।

समाजले बहिष्कार गरेपछि आफ्नो बाँच्ने आधार सकिएको भन्दै पटकपटक संसद भवन परिसरमा न्यायका लागि प्रदेश सरकारसँग हारगुहार गरेका छन् । २ छोरा, ३ छोरीका बाबु उनी गाउँका सामाजिक कार्यकर्ता हुन्। तर, दलितले छोएको निहुँमा बहिष्कारमा परेपछि न्याय माग्दै एक नम्बर प्रदेश सरकारको शरणमा आफू आएको आचार्यको भनाइ छ।

नेपालमा जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ लागू भएको ८ वर्ष पुगेको छ। तर अझै पनि गाउँ सामाजमा छुवाछुतको नाममा हुने सामाजिक अपराध कायमै रहेको छ।

जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कसैले पनि जातीय छुवाछुत गरेमा ३ वर्षसम्म कैद, पीडितलाई १ लाख रुपैयाँसम्म क्षतिपूर्ति र २५ हजार जरिमाना गर्ने व्यवस्था छ। यस्तै सोही ऐन अनुसार सरकारी कर्मचारी भए सजायको दोब्बर हुने व्यवस्था छ।