धुलाबारी हिरासतबाट थुनुवा फरारः दुई समितिले थाल्यो अनुसन्धान

Newslaya Home

धुलाबारी हिरासतबाट थुनुवा फरारः दुई समितिले थाल्यो अनुसन्धान

बुधबार २९, साउन २०७६

भद्रपुर । इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतबाटै थुनुवा फरार भएपछि जिल्ला प्रहरी कार्यालय झापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले छुट्टाछुट्टै अनुसन्धान थालेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगर प्रहरी उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा तीन सदस्यीय समिति र जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी छुट्टाछुट्टै छानबिन सुरु गरेको जनाइएको छ।

समितिले इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीसहित आठ जनामाथि छानबिन सुरु गरिएको जनाइएको छ । ‘अहिलेसम्म हिरासतबाट फरार भएका थुनुवा भेटिएको छैन, उनले भने, ‘यस विषयमा छानबिन भइरहेको छ, घटनामा दोषी भएका प्रहरी कर्मचारी विभागीय कारबाही हुन्छ।

चोरीको आरोपमा दुई जना भारतीय मेचीनगरबाट पक्राउ परेका थिए । पक्राउ पर्ने पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला अल्छियाका २६ वर्षीय गणेश कामती र २९ वर्षीय कृष्ण मण्डल हुन्। उनीहरु हिरासतमै रहेका बेला गत आइबार फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।