जनप्रतिनिधिको विवाद अदालतसम्म पुग्यो

Newslaya Home

जनप्रतिनिधिको विवाद अदालतसम्म पुग्यो

बुधबार २९, साउन २०७६

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकामा जनप्रतिनिधिबीच भएको विवाद उच्च अदालत विराटनगरसम्म पुगेको छ । विवाद अदालतमा पुगेपछि मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीबीचको विवाद अझ चर्किएको छ ।

असार २९ गते चौथो नगरसभापछि फागो र भण्डारीबीचको विवाद झन् उग्र बनेको हो । मेयरले आफू निकटका कार्यपालिका सदस्यलाई साथ लिएर निर्णय गर्ने गरेको र चौथो नगरसभामा पेस गरिएको निर्णय पनि एकलौटी गरेको भन्दै उपमेयरसहित उनी पक्षका कार्यपालिका सदस्य अदालत गएका हुन् ।

उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठक असार २८ गते साँझ बसेको थियो । कांग्रेसबाट निर्वाचित फागोसहित छ जना कार्यपालिका सदस्यले एकलौटी निर्णय गरेर चौथो नगरसभामा पेस गरेको उपमेयर भण्डारी पक्षधरको दावी छ ।

कार्यपालिकामा कांग्रेसबाट मेयरसहित छ जना र नेकपाबाट उपमेयरसहित १३ जना सदस्य छन् । कार्यपालिका बैठकमा गरिएको एकलौटी निर्णय स्वीकार गर्न नसकिने र सबै कार्यपालिका सदस्यको सहमतिबाट निर्णय हुनुपर्ने भन्दै नगरसभामा नेकपाबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका हुन् ।

मेयर फागोले आफूले कानुनसम्मत ढंगले कार्यपालिका बैठकबाट निर्णय गराएको दावी गर्दै निर्णयमा आपत्ति भए अदालत र अख्तियार जान चुनौती दिएका थिए । निर्णय सच्याउन पटक–पटक गरेको आग्रहलाई अस्वीकार गर्दै मेयरले चुनौती दिएकाले बाध्य भएर अदालत जानु परेको उपमेयर भण्डारीले बताइन् । उर्लाबारी नगरपालिकाको विवाद अब अदालतबाटै छिनोफानो हुने उनको भनाइ छ ।

उर्लाबारी नगरपालिकाको नगरसभामा पेस भएको निर्णय हाललाई कार्यान्वयन नगर्न नगराउन सोमबार उच्च अदालत विराटनगरले नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।