डेंगुका कारण ४० जनाको मृत्यु

Newslaya Home

डेंगुका कारण ४० जनाको मृत्यु

बुधबार २९, साउन २०७६

काठमाडौं । डेंगुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको बंगलादेशको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार बंगलादेशमा डेंगुको आशंकामा हजारौँ बिरामी भर्ना भएपछि अस्पतालहरूले उनीहरूको उपचार सेवामा समेत असहज महसुस गरेको बताएका छन् ।

लामखुट्टेको टोकाइबाट हुने भाइरल संक्रमण डेंगु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ । यो सामान्यतया दक्षिण एशियाली मुलुकहरूमा जुनदेखि सेप्टेम्बरमा देखा पर्ने गरेको छ । यो वर्ष डेंगु एशियाली केही मुलुकमा जटिल समस्याका रूपमा देखा परेको छ । बंगलादेशमा गत जनवरीदेखि सोमबारसम्म ४४ हजार बिरामी डेंगुको आशंकामा अस्पताल भर्ना भएका छन् । सोमबार मात्रै बंगलादेशका विभिन्न अस्पतालमा २ हजार १ सय बिरामी भर्ना भएको आयेशाले बताए ।

मन्त्रालयले यो वर्ष अहिलेसम्म ४० डेंगु सम्बद्ध विरामीको मृत्यु भएको पुष्टि गरेको छ । बंगलादेशी सञ्चारमाध्यमले डेंगुका कारण गत सातासम्म १ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको बताएका थिए ।

बंगलादेशमा एक साता लामो इद–अल–आधा मनाउन लाखौँ नागरिक शहरबाट गाउँ भित्रिने हुँदा रोग थप फैलिनसक्ने भन्दै अधिकारीले चासो व्यक्त गरेका छन् । यद्यपि स्वास्थ्यमन्त्रीले भने डेंगुको संक्रमण ‘विस्तारै घट्दै गएको’ ढाकामा आयोजित एक कार्यक्रममा बताए ।